मुख्यमन्त्रीको आदेश नटेरेको मोडर्न अस्पतालका सञ्चालक पक्राउ

जनकपुरधाम । मुख्यमन्त्री सतिश कुमार सिंहले स्वास्थ्य मन्त्री शत्रुधन सिंह तथा जिल्ला प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीलाई साथमा लिएर निजी अस्पतालहरूको अनुगमनलाई निरन्तरता दिएका छन्।
गत शनिबार अनुगमनको क्रममा अवैध देखिएका अस्पतालहरूलाई तत्काल बन्द गरी साँचो बुझाउन गरिएको आदेश नटेरेको भन्दै बिहीबार एक जना अस्पताल सञ्चालकलाई पक्राउ गरिएको छ।
जनकपुरको भ्रमरपुरा चोकस्थित मोडर्न अस्पतालका सञ्चालक रामभरोस महतोलाई अनुगमन टोलीले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको छ। गत शनिबार अनुगमनको क्रममा मुख्यमन्त्री नेतृत्वको टोलीले मोडर्नसहित करिब एक दर्जन अस्पताललाई अवैध ठहर गर्दै बन्द गर्न तथा साँचो बुझाउन निर्देशन दिएको थियो।
मोडर्न अस्पतालले मुख्यमन्त्रीको निर्देशन पालन नगरेको आरोपमा महतोलाई पक्राउ गरिएको अनुगमन टोलीले जनाएको छ। तर, मोडर्न अस्पतालजस्तै निर्देशन अटेर गर्ने अन्य अस्पतालहरूमा भने टोली दोहोर्याएर पुगेको छैन। टोलीले बिहीबार अबेर रातसम्म अनुगमन जारी राखेको छ।






