जनयुद्ध दिवसकै दिन धनुषामा माओवादी आन्दोलित

जनकपुरधाम । नेकपा माओवादी केन्द्र धनुषाधाम नगर कमिटी आन्दोलनमा उत्रिएको छ । आम नागरिकको सेवा प्रवाहमा नगरपालिका उदासिन भई भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै माओवादी केन्द्र आन्दोलनमा उत्रिएको हो ।

विहिबार फागुन १ गते जनयुद्ध दिवसकै अवसर पारी माओवादी केन्द्र नगर कमिटीले धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डललाई १० दिने अल्टिमेटम सहित ११ बुँदे माग पत्र बुझाएको माओवादी नेता दिपक यादवले जनाए । १० दिनभित्र जनताको हकहितमा रहेको माग सम्बोधन नभए फागुन १२ गतेदखि चरणवद्ध आन्दोलनमा उत्रिने उनले जनाए ।

ज्ञापन पत्रमा उल्लेख छ,–‘नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी सहितको उपलब्धि हासिल भएको उल्लेख गर्दै जनताको सबैभन्दा नजिकको सरकार स्थानीय सरकारले जनतालाई दिनुपर्ने सेवासुविधा तथा सेवा प्रवाह गर्न नसकेकोले बाध्य भएर ११ बुँदे माग पेश गर्नु परेको छ ।’

११ बुँदे मागहरुमा धनुषाधाम नगरपालिकाको कार्यालय नवनिर्मित आफ्नै भवनमा सारि धर्मशाला पर्यटकका लागि खाली गर्नुपर्ने, धनुषाधामको प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक सेवा तुरुन्त सुचारु ग्रि नगर भरिका स्वास्थ्य सेवामा औषधि, स्वास्थ्यकर्मी र एम्बुलेन्स सेवा सर्वसुलभ तरिकाले समयमा उपलब्ध गराउनुपर्ने, विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान गरि शिक्षामा देखिएका अनियमितता, अपारदर्शीता र खस्किदै गएको शिक्षा स्तरमा सुधारको लागि अविलम्ब पहल गरिनुपर्ने, आफ्नै कार्यालयको प्रशस्त गाडी हुँदा हदैँ भाडाको गाडी प्रयोग गर्न बन्द गर्नुपर्ने, पर्यटन विकासको लागि धनुष मन्दिर, संरक्षित वन, धनुषाधाम मकर मेला, बजार व्यवस्थापन अविलम्ब गरिनु पर्ने, किसानको लागि समयमा मलखाद, बिउबिजन र सिचाईँको उचित व्यवस्था गर्नुपर्ने, आन्तरिक आम्दानी स्रोत बढाउन बालुवा खोलको ठिक्का समयमा लगाउनु पर्ने, अनियति तरिकाले भर्ना गरिएको कर्मचारी सार्वजनिक गर्नुपर्ने, दलित, महिला, पिछडा वर्ग, अपाङ्ग लगायत विभिन्न समुदायका लागि संघीय र स्थानीय सरकारबाट छुट्यार आएको सहभागितामूलक रकम सम्बन्धित समुदायको समन्वय तथा सहकार्यमा काम गरिनु पर्ने, सार्वजनिक सुनुवाइ कार्यक्रम गरि हालसम्मको आयव्यय सार्वजनिक गरि सूचना प्रवाह गरिनु पर्ने लगायतका माग राखेका छन् ।

ज्ञापन पत्र बुझाएको १० दिनभित्र माग सम्बोधन नभए ११ औँ दिनदेखि चरणवद्ध आन्दोलनमा उत्रेर जनताको लागि कडा संघर्ष गर्ने नेता यादवले बताए ।

प्रतिक्रिया