जनकपुरधाममा मुख्यमन्त्री सिंहविरुद्ध मसाल जुलुस

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको विरोधमा जनकपुरधाममा मसाल जुलुस प्रदर्शन गरिएको छ। शुक्रबार साँझ राष्ट्रिय एकता अभियानका युवाहरूले विरोधस्वरूप मसाल जुलुस निकालेका हुन्।
भानु चोकबाट सुरु भएको जुलुस शिव चोक हुँदै जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। प्रदर्शनका क्रममा सहभागीहरूले “मुख्यमन्त्री सतीश सिंह मुर्दाबाद“, “प्रदेश सरकार मुर्दाबाद“ जस्ता नारा लगाएका थिए।
मसाल जुलुस निकालेको अभियानमा संलग्न अक्षय यादवका अनुसार आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहँदा समेत कुनै ठोस विकास कार्य अघि नबढेको र प्रदेश सरकारले जम्मा १ प्रतिशत मात्र बजेट खर्च गरेको भन्दै मुख्यमन्त्रीको विरोधमा मसाल जुलुस निकालेका हुन्।
उनले मुख्यमन्त्री सिंहले विकास योजनाको कार्यान्वयन गर्नुको सट्टा निजी अस्पतालहरूको अनुगमनमा मात्र चासो देखाउने गरेको आरोप लगाए। यादवका अनुसार यसअघि पटक–पटक ज्ञापनपत्र बुझाए पनि मुख्यमन्त्री सिंहले कुनै प्रतिक्रिया नदिएपछि बाध्य भएर मसाल जुलुस प्रदर्शन गरिएको बताए।