कुटपिट गर्दै निकालिएका केआईआईटीमा अध्ययनरत झन्डै एक हजार नेपाली विद्यार्थी बिचल्लीमा

काठमाडौं । भारतको ओडिशा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत झन्डै एक हजार नेपाली विद्यार्थीलाई कुटपिट गर्दै बाहिर निकालिएको छ ।

केआईआईटीमा अध्ययनरत एकजना विद्यार्थीले नाम नखुलाउने शर्तमा नागरिक मिररसँग कुरकानी गर्दै भने, ‘झन्डै एक सयजना सुरक्षाकर्मी र फ्याकल्टी आएर होस्टलमा बसिरहेका विद्यार्थीहरूलाई रुमभित्र पसेर कुटपिट गर्दै निकालिदिएका छन् । अहिले कतिपय विद्यार्थी रेलवे, बस स्टेशनमा छन् भने केही घर फर्किसकेका छन् ।’

उनले सोमवार बिहानै विश्वविद्यालय प्रशासनले अध्ययनरत सबै विद्यार्थीलाई बसमा राखेर ठाउँठाउँमा छोडेर गएको पनि सुनाए ।

उनले थपे, ‘केआईआईटीमा बिटेक तेस्रो वर्षमा अध्ययनरत एकजना २० वर्षीया नेपाली छात्रा प्रकृति लम्सालको आइतवार होस्टलमा शव भेटेको थियो । हामीले ती विद्यार्थीको हत्या भएको हुन सक्ने र घटनाबारे अनुसन्धान हुनुपर्छ भन्दै शान्तिपूर्ण रुपले आन्दोलन गरिरहेका थियौँ । तर, विश्वविद्यालयले हामीलाई एउटा सूचना पठाउँदै सोमवार एकाएक होस्टलबाट सामानसहित निकालिदियो ।’

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली छात्राको मृत्यु भएको सम्बन्धमा बुझ्ने काम भइरहेको बताएका छन् ।

विश्वविद्यालयमा अध्ययनरत मृतक छात्राका केही साथीहरूका अनुसार सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङ तर्फका एकजना छात्रले उनीसँग प्रेम सम्बन्ध राखेको र पटकपटक दुव्र्यवहार गर्दै आएको आरोप लगाएका छन् । मृतक छात्राको शरीरमा पनि चोटपटकको निशान देखिएको विद्यार्थीहरूले आरोप लगाएका छन् ।

विद्यार्थीहरूका अनुसार आफूमाथि भएको दुर्व्यवहारबारे ती छात्राले सम्बन्धित निकाय विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) लाई प्रकृतिले गत महिना आफूमाथि दुव्र्यवहार भएको रिपोर्ट गरेकी थिइन् । एकपटक कुरा मिलेपनि फेरि दुर्व्यवहारमा परेपछि प्रकृतिले फेरि गुनासो गर्दा उल्टै आईआरओले गाली गरेर पठाएको र घटना भएको बुझिएको छ । साथै घटनामा संलग्न भनिएका ती छात्र स्थानीय नेताको छोरा भएको र विश्वविद्यालयले घटना ढाकछोप गर्न खोजिएको पनि विद्यार्थीहरूको आरोप छ ।

प्रतिक्रिया