इन्सपेक्टर साहको पक्षपाती व्यवहारविरुद्ध कांग्रेस कार्यकर्ताको विरोध, महेन्द्रनगरमा चक्का जाम

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा बिहानैदेखि जनकपुर ढल्केवर सडक खण्डमा चक्का जाम गरिएको छ। नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर सोनु साहको विरोधमा चक्का जाम गरेका हुन्। उनीहरुले गरेको चक्का जामका कारण सडकमा लामो र छोटो दुरीका सवारी साधन रोकिएका छन् र यात्रुहरू अलपत्र परेका छन्।
इन्सपेक्टर साहले नेकपा एमालेको समर्थनमा अनावश्यक आतंक मचाएको भन्दै कांग्रेस कार्यकर्ताहरू आन्दोलित भएको बताइएको छ । तरुण दलका क्षिरेश्वरनाथ नगरपालिकाका सभापति उमेश यादवले भने, “इन्सपेक्टर साहको सरुवा नभएसम्म हामी आन्दोलन जारी राख्नेछौं।”
बुधवार चौकीमा भएको छलफलको क्रममा, एक स्थानीय ज्येष्ठ नागरिकलाई एमालेका कार्यकर्ता राजु साहले दुव्यवहार गरे। तर, प्रहरीले उनलाई कुनै कारबाही नगरेपछि कांग्रेस कार्यकर्ताहरू आन्दोलित भएका हुन्। कार्यकर्ता साहले जाँड रक्सी सेवन गरेर छलफलमा हंगामा मचाउन खोजेपछि, इन्सपेक्टर साहले उनलाई कुनै कारबाही नगरेपछि विरोध सुरु भएको सभापति यादवले जानकारी दिए।








