‘भारतले नेपालीलाई हेर्ने दृष्टिकोण छर्लङ्ग पारिदिएको छ, यसको असर कालान्तरमा देखिने छ’

काठमाडौँ । कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणले भारत र नेपालबीच असहज परिस्थिति उत्पन्न भएको छ । प्रकृतिको मृत्यु पछि आन्दोलनमा उत्रेका विद्यार्थीमाथि केआईआईटीले गरेको व्यवहारले भारतका अन्य विद्यालय र विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीका साथै भविष्यमा भारत पढ्न जाने वा नजाने विषयमा बहस हुन थालेको छ ।
हुन त केआईआईटीले माफी मागिसकेको छ तर, अवस्था भने अझैँ असामान्य नै छ । कारण, विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी घर फर्किसकेका छन् भने प्रकृति घटनाको अनुसन्धान भइरहेको छ । आफ्ना साथी गुमाए पछि न्यायका लागि माग गर्दै र घटनाबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने माग जोकोहीले जुनसुकै देशमा वा विदेशमा भएपनि गर्ने गर्छन् । त्यो नयाँ विषय भने होइन । तर, केआईआईटीले आन्दोलनमा रहेका नेपाली विद्यार्थीलाई मात्रै लक्षित गरेर निकालेर गरेको व्यवहारप्रति त्यसले भविष्यमा नेपाली विद्यार्थी भारत अध्ययन वा कामका लागि जाने की नजाने विषय गम्भीर बनेको छ ।
केआईआईटीले नेपाली विद्यार्थीमाथि गरेको व्यवहारले नेपाल–भारत सम्बन्धमा कुनै असर गर्छ वा गर्दैन भनेर नागरिक मिररले गरेको प्रश्नमा समाजशास्त्री एवं नेपाल–भारत मामिलाका जानकार राम गुरुङ्गले भने, ‘यसले दुई देशबीचको सम्बन्धमा नीतिगत तहमा खासै प्रभाव त पर्दैन । कारण, नेपाल र भारतबीचको सम्बन्ध भनेको कुनै एक कुरामा मात्रै सिमित छैन । भारतको एउटा राज्यको एउटा विश्वविद्यालयमा भएको घटनाले दुई देशबीचको सम्बन्धमा असर पार्छ भनेर सोच्नु हुँदैन । तर, केआईआईटीमा भएको घटनालाई वेवास्ता भने गर्न पनि सकिन्न ।’
नेपालका अधिकांश विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि भारतमा छन् भने कैयन विद्यार्थी अध्ययनका लागि जाने तयारीमा रहेको अवस्थामा केआईआईटीले गरेको व्यवहारले नेपाली विद्यार्थीमा हामी असुरक्षित रहेछौँ र यही अवस्थामा भारत अध्ययनका लागि जानु उचित होला की नहोला भन्ने एउटा प्रश्न भने उब्जेको उनको तर्क छ ।
गुरुङ्गले थपे, ‘भारतको जनसङ्ख्या, राजनीतिक अवस्था लगायत अन्य पक्षमा पनि हामी (नेपाली) भारतभन्दा कमजोर रहेछौँ र नेपालीलाई हेर्ने दृष्टिकोण के रहेछ भन्ने कुरा पनि यो घटनाले प्रष्ट देखिएको छ । त्यसकारण अब फेरि पनि यहि अवस्थामा केआईआईटीमा अध्ययनका लागि जाने की नजाने र जाने भए कुन अवस्थामा जाने भन्ने पनि अब नेपाली विद्यार्थी र उनका अभिभावकले सोच्न बाध्य हुन्छन् । र, नेपाली विद्यार्थीका लागि भारत पहिला जस्तै प्राथमिकतामा पर्ने सम्भावना पनि कम हुन सक्छ कि भन्ने पनि यसले अवस्था उत्पन्न गराउन सक्छ ।’
‘नेपाल–भारतबीच पहिला राजनीतिक सम्बन्धमा मात्रै सिमित थियो । तर, पछि आर्थिक, सामाजिक, सांस्कृतिक लगायत अन्य सम्बन्धहरू पनि बन्दै गयो । यसले दुई देशबीचको सम्बन्धलाई थप बलियो पनि बनाउँदै गयो । तर, यो घटनाले तत्कालै असर नदेखिए पनि कालान्तरमा भने यसको असर देखिन सक्छ । किनकी जो छात्रवृत्तिमा जान्थे र जो पैसा तिरेर पढ्न जान्थे ती नेपाली विद्यार्थीको रोजाईमा भारत नपरेपछि कतै न कतै असर त देखिहाल्छ । यसका लागि सरकारको कदम कस्तो हुन्छ त्यो पनि आगामी दिनमा महत्त्वपूर्ण छ ।’
केआईआईटीले नेपाली विद्यार्थीमाथि गरेको व्यवहार र देखाएको असंवेदनशिलताले भारतको सम्पूर्ण शिक्षा जगतप्रति नै प्रश्न खडा गरिदिएको उनको भनाइ छ । गुरुङ्ग भन्छन्, ‘भारतको एउटा विश्वविद्यालय जहाँ हजारौँ विद्यार्थी विभिन्न देशबाट अध्ययनका लागि पुग्छन् त्यहाँ कस्तो व्यवहार हुँदो रहेछ भन्ने पनि यो घटनाले प्रष्ट्याएको छ । व्यवसायिक दायराभन्दा भारतका विश्वविद्यालयहरू माथि उठ्न नसकेको पनि यसले देखाएको छ । साथै विश्वविद्यालय विद्यार्थीप्रति संवेदनशिल नरहेको र विश्वविद्यालयको कर्मचारी संयन्त्र कतिसम्मको कमजोर रहेछ भन्ने पनि छर्लङ्ग भएको छ । एउटा घटना जसमा प्रधानमन्त्रीले हस्तक्षेप गर्नु भनेको विश्वविद्यालय कतिसम्मको असफल र लापरबाह रहेको छ भन्ने पनि यसले देखाएको छ ।’
केआईआईटीमा भएको घटनामा प्रधानमन्त्री केपी शर्मा ओलीको हस्तक्षेप पछि विश्वविद्यालयले माफी मागिसकेको छ । विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरू अन्तिम जाँचको तयारीमा रहेको अवस्थामा विश्वविद्यालयले नेपाली विद्यार्थीलाई फर्किन पनि आग्रह गर्दै हेल्पडेस्क स्थापना गरिसकेको छ । तर, उत्पन्न विवाद साम्य नहुँदै नेपाली विद्यार्थी फर्किहाल्नु भने उचित र सुरक्षित नभएको देखिन्छ ।
गुरुङ्ग भन्छन्, ‘अहिलेकै अवस्थामा परीक्षा दिनका लागि विश्वविद्यालय फर्किनुभन्दा पनि अवस्थाको उचित मूल्याङ्कन गर्नुपर्छ । कारण, विश्वविद्यालयको अमानवीय र असंवेदनशिल व्यवहारले विद्यार्थीमाथि मानसिक तनाव उत्पन्न भएको छ । दिनरात मिहिनेत गरेर अध्ययन गरिरहेकालाई एकाएक कुटपिट गर्दै निकालेर अब जाँच दिन वा अध्ययनकै लागि आउ भनेर भन्नुभन्दा पनि गहन छलफल गरेर मात्रै निर्णय गर्न आवश्यक छ ।’
केआईआईटीमा गत आइतवार बिटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालले आत्महत्या गरेको विषयमा छानबिनका लागि माग गर्दै आन्दोलनमा रहेका नेपाली विद्यार्थीलाई विश्वविद्यालयले कुटपिट गर्दै होस्टलबाट खेदेपछि अधिकांश नेपाली विद्यार्थी घर फर्किसकेका छन् ।
प्रकृति घटनामा ओडिशा सरकारले छानबिन समिति गठन गरेर अनुसन्धान सुरु गरिसकेको छ भने प्रकृतिको शव उनको जन्मथलो रुपन्देही ल्याएर अन्त्येष्टि गरिएको छ ।






