रिंकु सदाय मृत्यु प्रकरण: आरोपीहरू चाँडै पक्राउ पर्ने गृह मन्त्री लेखीको दाबी

जनकपुरधाम । मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीले सिरहा नवराजपुरकी रिंकु सदाय मृत्यु प्रकरणका आरोपीहरू छिट्टै पक्राउ पर्ने दाबी गरेका छन्।
मन्त्री लेखीले आज बिहान पत्रकार सम्मेलन गर्दै घटनामा संलग्नहरूलाई पक्राउ गर्न प्रहरी परिचालित भइसकेको र उनीहरूलाई चाँडै कानुनी कारबाहीको दायरामा ल्याइने बताए। उनले घटनामा शंका उत्पन्न भएकाले धरानमा पोस्टमार्टम गरिएको र रिपोर्ट आज साँझसम्म आउने जानकारी दिए।
“स्थानीय राजनीतिकर्मीले पञ्चायतमार्फत घटना दबाउने, लुकाउने र रकम बार्गेनिङ गर्ने प्रयास गर्दा अन्यौलता बढेको हो,” मन्त्री लेखीले भने, “जहाँ पनि कुनै घटना घट्दा पहिले जानकारी पाउने स्थानीयहरू नै हुन्। समयमै प्रहरीलाई खबर गरिदिएको भए अन्यौलता सिर्जना हुने थिएन। तर, स्थानीय राजनीतिकर्मी नै घटना लुकाउन सक्रिय हुनु दुःखद पक्ष हो।”
उनका अनुसार घटनाको अनुसन्धान सहज रूपमा अघि बढिरहेको छ। साथै, घटनामा संलग्न तथा रकम बार्गेनिङ गर्नेहरूमाथि कारबाही माग गर्दै पीडित परिवारले पूरक जाहेरी दर्ता गराएका छन्।
मृतककी आमा सीतादेवीले बिहीबार इलाका प्रहरी कार्यालय लहानमा कर्तव्य ज्यान, जबरजस्ती करणी, शरीर बन्धक र मिलापत्र लेनदेन कसुरमा संलग्न भएको आरोप लगाउँदै पञ्चसहित आठजनाविरुद्ध पूरक जाहेरी दिएकी छन्।






