भेटघाट र सम्मानको तस्विरले अपवाह फैलाइयो : उपाध्यक्ष चौधरी

काठमाडौँ। समाजवादी युवा संघ मधेश प्रदेशका उपाध्यक्ष सरोज कुमार चौधरीले एक बैठकको क्रममा सम्मान गरेको तस्विरका आधारमा पार्टी प्रवेशको गलत हल्ला फैलाइएको बताएका छन्।
शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै उनले भने, “भेटघाटको समयमा सम्मानपछि लिएको तस्विरलाई गलत तरिकाले प्रस्तुत गरी जसपा नेपाल छोडेर नयाँ पार्टी प्रवेश गरेको भनी अपवाह फैलाइएको छ।”
गत बिहिबार जसपा नेपालबाट फुटेका असन्तुष्ट नेताहरु—रेणु यादव, प्रतिनिधि सभा सदस्य बिरेन्द्र प्रसाद महतो र नेता अशोक यादवले चौधरीलाई भेटघाटका लागि बोलाएको र त्यो मात्र एक सामान्य भेटघाट थियो भन्ने जानकारी उनले दिएका छन्।
चौधरीले यो अफवाहको खण्डन गर्दै भने, “यस्ता घटिया र गैर-राजनीतिक गतिविधिहरूलाई मैले दृढ अस्वीकार गर्दछु। यसले पार्टी र नेताहरूप्रतिको सामान्य सम्मान पनि घटाएको छ।”
उनले थप स्पष्ट पारे, “म हाल उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको भातृ संस्था समाजवादी युवा संघ नेपालमै कार्यरत रहेको छु।”







