पूर्वाञ्चल विश्वविद्यालयले केआईआईटीबाट फर्किएका विद्यार्थीलाई पढाउने

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालय भारतबाट फर्केका विद्यार्थीलाई पढाउन तयार भएको छ । भारतको ओडिसा राज्यमा रहेको कलिङ्ग इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआइटी) मा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएपछि उनीहरू नेपालमै पढ्न इच्छुक भएका खण्डमा पूर्वाञ्चल विश्वविद्यालयले भर्ना लिने जानकारी दिएको हो ।

उनले शिक्षा मन्त्रालयसँग यस विषयमा समन्वय गरिएको र यदि विद्यार्थीहरूले भारत फर्केर केआईआईटीमा अध्ययन गर्न असहज महसुस गरेमा उनीहरूलाई नेपालमै पढ्नको लागि पूर्वाञ्चल विश्वविद्यालयमा भर्ना लिनको लागि तयार रहेको बताए।

“धेरै विद्यार्थीहरू स्वदेश फर्किसकेका छन् र अब उनीहरू दुविधामा छन् – भारत फर्कन कि नेपालमै पढ्न?” थपलियाले भने, “यदि विद्यार्थीहरू नेपालमै पढ्न चाहन्छन् भने हामी उनीहरूको भर्ना गर्न र शिक्षा दिन तयार छौं। यसका लागि शिक्षा मन्त्रालयसँग समन्वय गरिएको छ।”

हिमालयन ह्वाइट हाउस कलेजका प्रिन्सिपल तोयनारायण पौडेलले पनि नेपालमै पढ्न चाहने विद्यार्थीलाई सिट उपलब्ध गराउन सकिने बताएका छन्। उनले वीरगञ्जका दुई सयभन्दा बढी विद्यार्थी अन्योल अवस्थामा रहेको र उनीहरूले नेपालमै पढ्न चाहेको खण्डमा भर्ना लिन तयार रहेको बताए।

“भारत र नेपालको पाठ्यक्रम प्रायः एउटै हुन्छ,” पौडेलले भने, “यदि विद्यार्थीहरू नेपालमै पढ्न चाहन्छन् भने हामी दुवै देशको पाठ्यक्रम मिलाएर पढाउन सक्छौं, जसले विद्यार्थीहरूको अध्ययनको प्रक्रिया सहज बनाउँछ।”

शिक्षा मन्त्रालयले भने, नेपाल फर्किएका विद्यार्थीहरूको बारेमा कति विद्यार्थी फर्किएका छन् भन्ने जानकारी नभएको र उनीहरूको गुनासोको आधारमा निर्णय गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ। शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा काम गर्ने र गुनासोको समाधानको लागि उचित कदम चालिने बताए।

हालसम्म करिब तीन सय नेपाली विद्यार्थी केआईआईटीबाट फर्किएका छन्। कलेज प्रशासनको दुर्व्यवहार र होस्टेल व्यवस्थामा समस्याका कारण उनीहरू स्वदेश फर्किएका हुन्।

प्रतिक्रिया