सुधार केन्द्रमा युवाको मृत्यू भएको घट्नामा छानविन गर्न प्रहरी उदासिन

जनकपुरधाम । जनकपुरधामको एक सुधार केन्द्रमा एक युवाको शंकास्पद मृत्यू भएको पाँच दिन बितिसके पनि छानविन तर्फ प्रशासन उदासीन दखिएको छ ।

जनकपुरधामको किशोर फाउण्डेसनमा बुधबार धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. १० डुमरीयाका २० वर्षीय राजकुमार यादवको शंकास्पद मृत्यू भएको थियो । तर उनको शंकास्पद मृत्यू भएको पाँच दिन बितिसक्दा पनि छानविन तर्फ प्रहरी प्रशासनको त्यति चासो देखिदैन ।

मृतक यादव दुई महिनादेखि जनकपुरधाम उपमहानगरपालिका–१९ बेंगाशिवपुरस्थित किशोर फाउण्डेसन (सुधार केन्द्र)मा बसिरहेका थिए ।

किशोर फाउण्डेसनका व्यवस्थापक सञ्जीव शर्माका अनुसार राजकुमार नशाको कुलतमा रहेका थिए । बुधबार बिहान ११ बजे उनलाई घाँटीमा कफ जमेको र स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि जनकपुरको समर अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले औषधि उपचार गरी अवस्था सामान्य देखिएको भन्दै निगरानीमा राख्न सल्लाह दिएका थिए । तर पुनः समस्या देखिएपछि उनलाई साँझ ४ः३० बजे प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो, जहाँ उपचारको क्रममा मृत्यु भएको शर्माको दाबी छ ।

तर प्रादेशिक अस्पताल जनकपुरका आकस्मिक कक्षका इन्चार्ज सरद यादवले राजकुमारलाई अस्पताल ल्याउँदा मृत्यु भइसकेको बताएका छन् । आकस्मिक कक्षमा रहेका मेडिकल अफिसरहरू राधे मण्डल र रमेश यादवका अनुसार राजकुमार मानसिक समस्या भएका बिरामी थिए र नियमित औषधि सेवन गरिरहेका थिए ।

स्थानीय माओवादी नेता महेशलाल यादवका अनुसार राजकुमारको मृत्यू हुनु चारदिन अघि मृतककी आमा सरस्वती देवीले छोराको अनुहार मलिन देखेर घर लैजान चाहेको बताएकी थिइन् । तर सुधार केन्द्रका सञ्चालकहरूले अझै ४–५ महिना बस्नुपर्ने भन्दै उनलाई रोकेका थिए । परिवारजनले अत्यधिक औषधि खुवाइएकाले नै राजकुमारको मृत्यु भएको आशंका गरेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार समर अस्पतालले उपचारपछि डिस्चार्ज गरेको थियो । ‘राजकुमार लागू पदार्थ दुव्र्यसनी थिए । उनलाई समर अस्पतालमा उपचार गरी डिस्चार्ज गरियो । त्यसपछि सुतेको सुतै भए । नउठेपछि प्रादेशिक अस्पताल लगिएको बुझिएको छ । मृत्युको वास्तविक कारण पोस्टमार्टमको रिपोर्ट पछि मात्र खुल्नेछ,’ डिएसपी सिंहले भने ।

रााजकुमारको शव बिहीबार प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम गरिएको छ । परिवारजनले सुधार केन्द्रको लापरवाहीकै कारण शंकास्पद मृत्यु भएको आरोप लगाउँदै छानबिनको माग गरेका छन् ।

राजकुमार घरका एक्ला छोरा थिए । उनका दुई सन्तान छन् भने उनका पिता रामबाबु वैदेशिक रोजगारीमा छन् ।

प्रतिक्रिया