जनकपुरधामस्थित राराब क्याम्पसमा परीक्षाको जिम्मेवारीलाई लिएर कुटाकुट, ४ जना घाइते

जनकपुरधाम । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा कर्मचारीहरूबीच झडप भएको छ।

एमबीएस परीक्षाको जिम्मेवारीलाई लिएर उत्पन्न विवादपछि झडप भएको हो। एमबीएस शाखाका प्रमुख अभिराम राय परीक्षा सम्बन्धी जानकारी दिने उद्देश्यले क्याम्पस प्रमुख बसन्त कर्णसँग भेट्न गएका बेला उनीहरूकै अगाडि कुटाकुट भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। क्याम्पस प्रमुख कर्णले रायलाई परीक्षाको जिम्मेवारीबाट हटाई अरूलाई दिन खोजेपछि विवाद सुरु भएको थियो।

प्रजातान्त्रिक समूहका महेश यादव र माओवादी समर्थित सुरेन्द्र यादवबीच हात हालाहाल भएको थियो। उनीहरूले एकअर्कामाथि मुक्का प्रहार गर्नुका साथै गालीगलौज गरेका थिए।

झडपका क्रममा ५५ वर्षीय सुरेन्द्रप्रसाद यादव, २७ वर्षीय गोविन्द साह, २२ वर्षीय रामपुकार महतो, र २४ वर्षीय विकेश अधिकारी घाइते भएका छन्।

कुटाकुट भइरहेको बेला क्याम्पस प्रमुख कर्ण मोटरसाइकलमा चढेर निस्किएका थिए। घटनाका सम्बन्धमा दुबै पक्षलाई जिल्ला प्रहरी कार्यालय धनुषामा छलफलका लागि बोलाइएको जिल्ला प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिएका छन्।

प्रतिक्रिया