घरमै पुगेर सिडीओ कडरीयाले मुकेशलाई दिए नागरिकता

जनकपुरधाम। धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडीओ) रामु राज कडरीयाले घरमै पुगेर एक व्यक्तिलाई नागरिकता प्रदान गरेको छ। उनले बिहीबार क्षिरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरका पूर्ण अशक्त अपांग मुकेश कुमार महतोलाई घरमै पुगेर नागरिकता हस्तान्तरण गरेका हुन्।
११ वर्षकै उमेरमा पोलियो संक्रमणका कारण उठबस गर्न नसक्ने २३ वर्षीय महतोलाई प्रमुख जिल्ला अधिकारी कडरीयाको नेतृत्वमा गएको टोलीले वंशजको आधारमा नागरिकता प्रदान गरेको हो। उक्त नागरिकता प्रशासकीय अधिकृत नीरज कुमार श्रीवास्तवले जारी गरेको छ।
दिगम्बरपुरका वडाध्यक्ष मोद कुमार महताको पहलपछि प्रशासकीय अधिकृत श्रीवास्तव र नायब सुब्बा (ना.सु.) रामकृपाल महतोले समन्वय तथा प्रक्रियागत सहजीकरण गरेपछि महतोलाई नागरिकता प्रदान गरिएको हो।
जिल्ला प्रशासन कार्यालय, धनुषाले पछिल्लो समय नागरिकता वितरण प्रक्रियालाई सहज बनाउन विशेष पहल गरिरहेको छ। प्रमुख जिल्ला अधिकारी कडरीयाको नेतृत्वमा यसअघि बटेश्वर गाउँपालिकाका दुई जनालाई पनि घरमै पुगेर नागरिकता वितरण गरिएको थियो।
नागरिकता नहुँदा वर्षौँदेखि सरकारी सेवा सुविधाबाट वञ्चित महतोलाई अब अपांग भत्ता लगायतका सेवा–सुविधा प्राप्त हुने बाटो खुलेको छ।
प्रमुख जिल्ला अधिकारी कडरीयाले जिल्लावासीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न निरन्तर सुधारको प्रयास गरिरहेको बताए । “नागरिकता जस्तो महत्वपूर्ण कानूनी पहिचानपत्र प्राप्त गर्न असमर्थ नागरिकहरूलाई घरमै पुगेर सेवा दिनु हाम्रो कर्तव्य हो,” उनले भने । उनका अनुसार प्रशासन अपांग नागरिकहरूको समस्याप्रति संवेदनशील रहेको छ।
‘मेरो परिवारमै पनि अपांग सदस्यहरू थिए, त्यसैले उनीहरूको पीडा राम्ररी बुझ्छु। मुकेशको अवस्थाबारे जानकारी पाएपछि आवश्यक प्रक्रिया पूरा गरेर घरमै नागरिकता दिन आएको हुँ,’ सिडियो कडरीयाले बताए ।
धनुषा प्रशासनले सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि बढाइरहेको छ। हालै सम्पन्न कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय, धनुषाले मधेस प्रदेशमा उत्कृष्ट स्थान हासिल गरेको छ।
प्रशासनिक सेवा प्रवाहमा थप सुधार ल्याउने प्रयास निरन्तर जारी रहेको प्रमुख जिल्ला अधिकारी कडरीयाले बताए।
महतोलाई क्षिरेश्वरनाथ नगरपालिकाका पूर्व मेयर योगेन्द्र पजियार लगायत अन्य व्यक्तिहरूको उपस्थितिमा नागरिकता प्रदान गरिएको हो।






