मिथिला परिक्रमा बुधवार ध्रुवकुण्ड आउने, भव्य स्वागत गर्न बलवा नगरपालिकाको आग्रह

महोत्तरी । हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक यात्रा तथा विश्वकै लामो धार्मिक पदयात्राका रूपमा परिचित मिथिला परिक्रमा सुरु भएको छ। फागुन कृष्ण औँसीका दिन कचुरी मठबाट भगवान् राम र माता जानकीको डोलासहित परिक्रमा प्रारम्भ भएको हो।
यस वर्षको परिक्रमा आगामी फागुन २१ गते बुधवार बलवा नगरपालिकास्थित ध्रुवकुण्डमा आइपुग्नेछ। सो अवसरमा बलवा नगरपालिकाले यहाँ परिक्रमावासीलाई भव्य स्वागत र व्यवस्थित बनाउन विशेष तयारी गरेको छ। नगरपालिकाले नगरवासीलाई पनि परिक्रमावासीको स्वागतमा लाग्न अनुरोध गरेको छ।
नगरपालिकाले बिहिवार एक सूचना जारी गर्दै नगरवासीलाई परिक्रमावासीको सहज यात्राका लागि अवरोध हटाउन अनुरोध गरेको छ। सूचनामा सडक किनारामा रहेका पशु बाँध्ने खुट्टा, नादी, काठ, दाउरा, बाँसको टाट, गोबर गोइठा, बालुवा, गिट्टी तथा अन्य निर्माण सामग्री हटाउन आग्रह गरिएको छ।
नगरपालिका क्षेत्रमा पर्ने धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परिक्रमा मार्गलाई सफा, व्यवस्थित र सुरक्षित बनाउन नगरपालिकाले नगरवासीलाई आवश्यक कदम चाल्न अनुरोध गरेको छ।







