च्याम्पियन्स ट्रफीःभारत समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौँ । च्याम्पियन्स ट्रफीमा समूह विजेता बन्दै भारत सेमिफाइनलमा पुगेको छ । आइतवार दुबईमा भएको समूह ‘बी’ अन्तर्गतको खेलमा न्यजिल्यान्डलाई ४४ रनले हराउँदै भारत समूह विजेता बनेको हो ।
दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिंग गर्ने मौका पाएको भारतले निर्धारित ओभरमा ९ विकेट गुमाएर २४९ रन बनायो । २५० रनको लक्ष्यसहित मैदान उत्रेको न्युजिल्यान्डले निर्धारित ओभरको ४५ दशमलव ३ ओभरमा अलआउट हुँदै २०५ रन मात्रै बनाउन सक्यो ।
कमजोर सुरुआत गरेको भारतका लागि सम्मानजनक स्कोर बनाउन श्रेयस ऐयरले ७९ रन बनाए भने भने हार्दिक पाण्ड्याले ४५ रन बनाउँदा अक्षर पटेलले ४२ रन जोडे । त्यसबाहेक अन्य खेलाडी भने सस्तोमै आउट भए । न्युजिल्यान्डका म्याट हेनरीले सर्वाधिक ५ विकेट लिए ।
यता न्युजिल्यान्डका लागि पूर्व कप्तान केन विलियमसनले सर्वाधिक ८१ रन बनाए भने अन्य खेलाडीले खासै रन बनाउन सकेनन् । न्युजिल्यान्डलाई जितबाट रोक्न भारतका वरुण चक्रवर्तीले सर्वाधिक ५ विकेट लिए भने कुलदिप यादवले २ विकेट लिए ।
न्युजिल्यान्ड पराजित भएपनि समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । यस समूहबाट आयोजक पाकिस्तान र बंगलादेश यसअघि नै बाहिरिसकेको छ ।