जनकपुरधाममा मधेस प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी सुरु

जनकपुरधाम। जनकपुरधाममा आजदेखि पाँच दिवसीय मधेस प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी २०८१ सुरु भएको छ। मधेसको कला र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषले संयुक्त रुपमा आयोजना गरेको प्रदर्शनी आजदेखि सुरु भएको हो। प्रदर्शनीको उद्घाटन मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले गरे।
“सामाजिक रूपान्तरणः ललितकलाको अभियान” नाराका साथ मैथिली विकास कोषको नवनिर्मित भवनमा आजदेखि सुरु प्रदर्शनी फागुन २४ गतेसम्म चल्नेछ।
प्रदर्शनीमा वास्तुकला, चित्रकला, मूर्तिकला, र हस्तकला समावेश गरिएको छ। मधेस प्रदेशका आठवटै जिल्लाबाट १५५ जना कलाकारका २५५ वटा कलाकृति प्रदर्शनीमा राखिएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यहाँका प्रतिभालाई उजागर गर्न प्रदर्शनीको आयोजना गरिएको मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए। प्रदर्शनीले यहाँको कलाकारहरूको मनोबल वृद्धि गर्नुका साथै पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने उनले बताए।
प्रदर्शनीमा सहभागी कलाकारहरूलाई पुरस्कृत गरिनेछ। प्रदर्शनीमा प्रत्येक विधाबाट एक एकजना उत्कृष्ट कलाकारलाई प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गरिनेछ। जसअन्तर्गत ६० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष चौधरीले जानकारी दिए।
“पुरस्कार प्राप्त गरेपछि कलाकारहरूको आत्मविश्वास बढ्ने र उनीहरू आर्थिक रूपले पनि सहयोग हुन्छ,” अध्यक्ष चौधरीले भने। उनले यहाँ सहभागि हुनुभएको कलाकारहरुको कलाकृतिलाई मैथिली विकास कोषले बजारीकरणमा पनि सहयोग गर्ने बताए।
अध्यक्ष चौधरीका अनुसार यहाँ छनोट भएका ४० जना कलाकारका कलाकृति राष्ट्रिय प्रदर्शनीमा समेत समावेश गरिनेछ। त्यहाँ उत्कृष्ट हुने कलाकारलाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिनेछ।
आयोजित प्रदर्शनीमा परम्परागत कलाकृति हेर्दा निकै राम्रो लागेको प्रदर्शनी हेर्न आएकी जनकपुरधाम थापा चोककी रामकली साहले बताइन्। त्यस्तै, सहभागी अर्की महिला भारती चौधरीले पनि उस्तै धारणा व्यक्त गरिन्।
उनले यो प्रदर्शनी अहिलेको नवपुस्ताका लागि लाभदायी हुने बताइन्। यसले लोप भईरहेको कलाकृतिहरूको संरक्षणमा समेत योगदान पुग्ने चौधरीले उल्लेख गरिन्।
प्रदर्शनी नेपाल पर्यटन बोर्ड, जनकपुरधाम उपमहानगरपालिकाको सहकार्यमा आयोजना गरिएको छ।