पत्रकार महासंघले मन्त्री यादवलाई भन्यो-अभिव्यक्ति सच्याउनुस्

जनकपुरधाम । नेपाल पत्रकार महासंघ प्रादेशिक कार्य समिति मधेश प्रदेशले भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको पत्रकारिता पेशासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।
मंगलबार जनकपुरधाममा आयोजित प्रादेशिक ललितकला प्रदर्शनीको उद्घाटन समारोहमा मन्त्री यादवले केही पत्रकारहरूले विज्ञापन र योजना माग्ने, नदिए धम्क्याउने तथा विरोधमा समाचार प्रकाशन गर्ने जस्ता गतिविधि गरिरहेको उल्लेख गरेका थिए।
यो पनि : पत्रकारहरूले विज्ञापन र योजना मागेर हैरान पारे, अब डिप्रेशनमा जानसक्छु : मन्त्री यादव
उनको उक्त अभिव्यक्तिलाई अवाञ्छित र अस्वीकार्य ठहर गर्दै महासंघले सार्वजनिक रूपमा स्पष्टिकरणको माग गरेको छ। महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो क्रान्तिले विज्ञप्ति जारी गर्दै कडा प्रतिक्रिया जनाएका छन्।
महासंघले पत्रकारिता पेशाको गरिमा र निष्ठा जोगाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रमाणविहीन रूपमा पत्रकार समुदायमाथि आशंका गर्नु अन्यायपूर्ण भएको बताएको छ। यदि कुनै पत्रकारले आचारसंहिताविपरीत कार्य गरेको प्रमाण उपलब्ध गराएमा महासंघ त्यसको सार्वजनिक खुलासा गर्न तयार रहेको बताइएको छ।
महासंघले मन्त्री यादवलाई आफ्नो अभिव्यक्ति सच्याउन र भविष्यमा यस्ता गैर–जिम्मेवार टिप्पणी नगर्न आग्रह गरेको छ। पत्रकारिता क्षेत्रको सम्मान र मर्यादा कायम राख्न सरकार तथा सरोकारवालाहरूसँग सहकार्य गर्दै एकजुट भई अघि बढ्न महासंघले आह्वान गरेको छ।
