मधेश सरकारको योजना खरिदविक्री प्रकरणमा काँग्रेसको चासो, आवश्यक कदम चाल्ने चेतावनी

जनकपुरधाम। मधेश सरकारको योजना खरिदविक्री भइरहेको विषयमा सत्तारुढ नेपाली काँग्रेसले गम्भीर चासो देखाएको छ। मन्त्रीहरूले नै योजनाको खरिदविक्रीमा संलग्न रहेको समाचार सार्वजनिक भएपछि काँग्रेसले आवश्यक कदम चाल्ने चेतावनी दिएको हो।
काँग्रेस मधेश संसदीय दलका नेता कृष्ण यादवले आज विज्ञप्ति जारी गर्दै योजना खरिदविक्रीका विषयमा आइरहेका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन्। उनले यस्तो विकृत क्रियाकलापको साक्षी भएर बस्न नसकिने भन्दै सम्बन्धित पक्षसँग छलफल गरी उचित निर्णय लिने चेतावनी दिएका छन्।
‘हाल सञ्चारमाध्यमहरूमा आएका समाचारहरूमा के कति सत्यता छ भन्ने विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यदि ती समाचारहरू सत्य छन् भने नेपाली काँग्रेस यस्ता गतिविधिहरूमा कुनै पनि रूपमा संलग्न नरहेको स्पष्ट पार्न चाहन्छ।’
सरकारी बजेटको दुरुपयोग भइरहेको पुष्टि भएमा सत्ता गठबन्धन दलको हैसियतले काँग्रेसले तत्काल सुधारका लागि आवश्यक कदम चाल्ने नेता यादवले उल्लेख गरेका छन्।
चालु आर्थिक वर्षको बजेटमा विकास निर्माणका कामहरू खुला प्रतिस्पर्धा (टेण्डर)बाट गर्नुपर्ने व्यवस्था थियो। तर, पछि ५० लाखसम्मका योजना उपभोक्ता समितिमार्फत सञ्चालन गर्नेगरी बजेट संशोधन गरिएको थियो।
हाल भौतिक पूर्वाधार कार्यालयहरूमार्फत मन्त्रीहरूले कमिशन लिएर कार्यकर्ता तथा ठेकेदारहरूलाई योजनाको चिट्ठी बाँड्ने गरेको स्रोतहरू बताउँछन्। मुख्यमन्त्री सतिश कुमार सिंहले सांसदहरूलाई ५ देखि ८ करोडसम्मका योजना बाँडेको खुलासा भएको छ।
योजनाको खरिदविक्रीमा कमिशन प्रथाको व्यापकता बढेपछि काँग्रेसको ध्यानाकर्षण भएको हो। यद्यपि, मुख्यमन्त्री सिंहले अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।