अन्तःगृह परिक्रमा गरि यसरी भयो परिक्रमा सम्पन्न

जनकपुरधाम । प्रसिद्ध १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा शुक्रबार अन्तःगृह परिक्रमा गरी विधिवत रुपमा सम्पन्न हुँदैछ । नेपाल र भारतका १५ वटा विश्रामस्थललाई विधिवत रुपमा परिक्रमा गर्दै बिहिवार जनकपुरधाम आईपुगेका रामजानीकको डोला शुक्रबार जनकपुरधामको पंचकोशी क्षेत्रमा परिक्रमा गरेपछि माध्यमिकी परिक्रमा सम्पन्न भएको हो ।
फाल्गुन औसींका दिन देखि विधिवत रुपमा शुरु भएको परिक्रमा सकिए लगत्तै तराई मिथिला क्षेत्रमा होली खेल्ने ऐतिहासिक परम्परा रहेको छ। यस क्षेत्रमा भोलि होली खेल्ने भएको छ।
मिथिला महात्मयमा उल्लेख भएअनुसार वृहत, मध्यमा एवं लब्धी गरि तीन प्रकारको परिक्रमा हुन्छ। जसमध्ये मध्यमा अर्थात मिथिला माध्यमिकी परिक्रमाको आफनै विशेषता छ। फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला बिहारीको डोला तथा जनकपुरधामको अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरधामको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवत रुपमा शुरुवात हुने परम्परा रहेको छ ।

प्राचीन समयमा सियालाल जी शरण नाम गरेका सन्तले शुरु गर्नुभएको मध्यमा परिक्रमा गरेपछि मनोवाञ्छित फल प्राप्त हुने विश्वासका साथ प्राचीन समयमा सियालाल जी महाराजले परिक्रमाको शुरुवात गर्नुभएको थियो।
नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन्। सोही क्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फुलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड हुँदै परिक्रमा कञ्चनवन पुग्दछ ।
कञ्चनवनमा परिक्रमावासीहरु एक आपसमा होली खेलेपछि मिथिलामा औपचारिक रुपमा होलीको शूरुवात भएको मानिन्छ। त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर ,औरही, विशौल हुँदै पुनः कल्याणेश्वर पुगेर जनकपुरधाम फर्केर विश्राम गर्छन्। फागुन पुर्णिमाका दिन परिक्रमावासीहरु जनकपुरधामको परिक्रमा अर्थात अन्तरगृह परिक्रमा पुरा गरेर घर फर्कने गर्दछन्। परिक्रमामा सहभागी यात्रीहरुले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदलयात्रा तय गर्ने गरिन्छ ।

टाउकोमा बन्दोबस्तीको समान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरि बास बस्नु, भँुंई खनेर चूल्हो निर्माण गर्नु, खाना पकाउनु, भजन कित्र्तन लगायतका कार्यहरु गर्नु परिक्रमावासीहरुको आस्था हो।
परिक्रमामा सहभागिहरुको लागि विभिन्न स्थानिय संघसंस्थाहरुले निःशुल्क स्वास्थ्य शिविर, चिया, नास्तालगायतको व्यवस्था मिलाएका छन्।