ठाकुरराम क्याम्पस स्ववियु चुनाव: नेविसंघ विभाजनपछि कांग्रेस नेताहरू दुई खेमामा

वीरगञ्ज । ठाकुरराम क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा नेपाली कांग्रेस पर्सा नेतृत्व विभाजित भएपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समूह प्रतिस्पर्धामा उत्रिएका छन्। नेविसंघको आन्तरिक विवाद चुलिँदै जाँदा कांग्रेस पर्साका नेताहरू पनि दुई खेमामा बाँडिएका छन्।

स्ववियु सभापति पदका लागि नेविसंघका राजु गुप्ताको समूहलाई कांग्रेसका नेता राजेन्द्र बहादुर अमात्यसहित संस्थापन पक्षका वरिष्ठ नेताहरूले समर्थन गरेका छन्। पूर्वसभापति अमात्य, नेविसंघ केन्द्रीय सदस्य शम्भु चौहान, विजय कर्ण, कांग्रेस महानगर सभापति मणिन्द्रलाल श्रेष्ठ, उपसभापति सन्तोष गुप्ता, पूर्व स्ववियु सभापति मनोज यादव, पूर्व स्ववियु उपसभापति सन्तोष सिंह, कांग्रेस युवा नेता रोशन लामिछाने, नेविसंघका निवर्तमान इकाइ सभापति मनोज साह लगायतका नेताहरूले गुप्ता समूहको प्रचार गरिरहेका छन्।

नेता अमात्यले गुप्ता समूहका उम्मेदवारहरूलाई आफ्नै निवासमा बोलाई शुभकामना दिँदै सामाजिक सञ्जालमार्फत खुलेर समर्थन जनाएका छन्। यता, नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री पक्षले विकास मण्डल धानुक नेतृत्वको समूहलाई नेविसंघको आधिकारिक उम्मेदवारको रूपमा घोषणा गरेको छ। कांग्रेस पर्साका सहसचिव नविन सिंहसहितका नेताहरू धानुक समूहको प्रचारमा सक्रिय छन्।

ठाकुरराम क्याम्पसमा विगत ४० वर्षदेखि नेविसंघको प्रभाव रहँदै आएको छ। कांग्रेस भित्रकै गुट उपगुट भए पनि नेविसंघका उम्मेदवार नै विजयी हुने परम्परा कायम छ। नेविसंघका नेताहरू विद्यार्थीका हकहितका लागि निरन्तर संघर्षरत रहेको दाबी सहसचिव सिंहले गरेका छन्।

स्ववियु निर्वाचनका लागि ठाकुरराम क्याम्पसमा यसपटक सभापति पदका लागि मात्रै १४ जनाले उम्मेदवारी दिएका छन्। १६ वर्षपछि हुन लागेको चुनावमा विभिन्न राजनीतिक दलहरू सम्बद्ध विद्यार्थी संगठन र स्वतन्त्र समूहबाट १४ वटा प्यानल बनेका छन्। प्रमुख निर्वाचन अधिकृत दिलीप सिंहका अनुसार, प्रत्यक्षतर्फ सभापति, सचिव, कोषाध्यक्ष तथा ८ सदस्य, समानुपातिकतर्फ उपसभापति, सहसचिव र ८ सदस्य गरी कुल २१ पदमा चुनाव हुँदैछ।

सभापति पदका लागि नेविसंघबाट विकास कुमार मण्डल धानुक, अनेरास्ववियुबाट पवन यादव, अनेरास्ववियु (क्रान्तिकारी) बाट अनिष पटेल, समाजवादी विद्यार्थी युनियनबाट हरिकिशोर यादव, समाजवादी विद्यार्थी युनियन नेपालबाट सगीर अली उम्मेदवार छन्।

यस्तै, जय नेपाल विद्यार्थी संघबाट राजु गुप्ता, स्वतन्त्र विद्यार्थी युनियनबाट दिलिप राज महतो, नेपाल विद्यार्थी समूहबाट राजकुमार यादव, स्वतन्त्र युवा समूहबाट श्याम प्रसाद गुप्ता, नेपाल विद्यार्थी कल्याण समूहबाट धर्मेन्द्र साह कानु, राष्ट्रिय विद्यार्थी संघबाट सुधांशु चौरसिया, भोट फर चेन्ज स्वतन्त्र विद्यार्थी युनियनबाट सिकेन्द्र यादव, सुधिर पटेल समूहबाट कमलेश यादव र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट दिपेश कुमार साहले उम्मेदवारी दिएका छन्।

कांग्रेस निकट नेविसंघबाट आधिकारिक एक र विद्रोही पाँच समूहले उम्मेदवारी दिएका छन्। प्रत्यक्ष र समानुपातिक गरी २१ पदका लागि कुल २४७ जनाले उम्मेदवारी दिएका छन्। ठाकुरराम क्याम्पसमा १० हजार ५ सयभन्दा बढी मतदाता रहेको जनाइएको छ।

प्रतिक्रिया