सरकारी निर्णयको अवहेलना : निजीमा काम गर्छन् निर्देशक डा.सिंह, छैन कसैको ध्यान !

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाका प्रमुख र कार्यकारी प्रमुखलाई निजी स्वास्थ्य संस्थामा काम नगर्न भन्दै ४ वर्ष अघि परिपत्र गरेको थियो । तर, मन्त्रालयको उक्त परिपत्र हालसम्म पनि पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन ।

मन्त्रालयले प्रमुख र कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका व्यक्तिले निजी स्वास्थ्य संस्थामा अभ्यास गर्न पूर्व स्वीकृति लिएको भए सो स्वीकृति स्वतः खारेज हुने समेत स्पष्ट पार्दै गरेको पत्रिपत्र खासै लागू हुन सकेको छैन । जसको उदाहरण मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित प्रादेशिक अस्पताल जनकपुरमा देख्न सकिन्छ ।

प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा.जामुन प्रसाद सिंह निर्देशकमा नियुक्त भएको लगभग ४ महिना हुन लागिसक्यो । तर, उनको अधिकांश समय अहिले पनि आफ्नो निजी क्लिनिकमै बित्ने गरेको छ ।

अस्पतालको निर्देशकमा नियुक्त भएका डा.सिंह अस्पताल समय बिहान १० बजे कहिल्यै अस्पतालमा भेटिँदैनन् । बिहान ८ बजेदेखि उनी आफ्नो क्लिनिकमा हुन्छन् भने १०ः३० वा ११ः३० सम्म उनी अस्पताल आइपुग्छन् । त्यसपछि दिउँसो ३ बजेदेखि फेरि उनी आफ्नै क्लिनिकमा भेटिन्छन् । सरकारको नियम अनुसार कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ड्यूटीमा हुनुपर्छ । तर, डा.सिंह मौका मिल्नासाथ क्लिनिक पुगिहाल्छन् । कारण, उनको क्लिनिकमा थेगिनसक्नुको बिरामी हुन्छ ।

चैत ३ गते डा.सिंहको क्लिनिकमा देखिएको बिरामीको भिड ।

पेशाले डा.सिंह बालरोग विशेषज्ञ हुन् । प्रादेशिक अस्पतालको निर्देशक बनेदेखि बच्चा बिरामीको सङ्ख्यामा वृद्धि हुनुपर्ने हो भने सुविधाहरू पनि थपिनुपर्ने हो । तर, बितेका उनको ४ महिनामा कुनै प्रगति देखिन सकेको छैन ।

हुन त १० औँ तहका रहेका डा.सिंहको अस्पतालमा यसअघि पनि खासै राम्रो उपस्थिति देखिएको थिएन । कारण, उनको नियुक्ति अस्पतालमा भएपनि जागिर उनले आफ्नो संकट मोचन बाल क्लिनिक र जनकपुर बाल अस्पतालमै गर्थे । ४ महिना अघि उनको अस्पतालमा हाजिरी पनि न्यून थियो भने अहिले निर्देशक बनेदेखि हाजिरी हुने क्रम सुध्रिएको छ । तर, सरकारको नियमविपरित क्लिनिकमा काम गर्ने उनको यो परम्पराबारे भने कसैलाई कुनै चाँसो छैन । न त प्रतिष्ठानलाई न प्रदेश सरकारलाई ।

नागरिक मिररले यसअघि डा.जामुन सिंहबारे ‘डा.जामुन सिंह : सरकारको तलब खाने तर, सरकारकै अस्पतालमा नभेटिने’ समाचार प्रकाशन गरेको थियो । त्यसबारे पनि कसैको ध्यान पुगेन र, उनैलाई अहिले अस्पतालको निर्देशकको जिम्मेवारी दिइएको छ ।

गत चैत ३ गते डा.सिंहलाई पछ्याउँदै दशरग तलाउ नजिकै रहेको उनको क्लिनिक पुग्दा बिरामीको भिड थेगिनसक्नु थियो । बिहानैदेखि धनुषादेखि छिमेकी जिल्लाका बिरामीहरू क्लिनिकमा लाइनमा बसेका थिए । बिहानको १० बजिसक्दा पनि उनी क्लिनिकमै थिए । १०ः३० बजे मात्रै उनी प्रादेशिक अस्पतालका लागि हिँडेका थिए । अस्पतालको ड्यूटी साँझ ५ बजेसम्म हुनु पर्ने हो तर, उनी फेरि दिउँसो ३ बजेदेखि क्लिनिकमा बिरामी हेर्न पुगिसकेका थिए ।

यतिसम्मको चलाखी गर्छन् डा.सिंह की बिहान आफ्नो गाडीमा क्लिनिक पुगेपनि दिउँसो भने अस्पताल परिसरमा गाडी पार्क नगरी प्रतिष्ठान परिसरमा गर्छन् । जसले गर्दा कसैलाई उनीमाथि शङ्का नहोस् । सोही दिन उनलाई पछ्याउँदै अस्पतालस्थित उनको कार्यकक्षमा दिउँसो ३ बजे भेट्न जाँदा कार्यालय सहयोगीले डाक्टर साहब नरहेको र अब भोलि मात्रै उनी अस्पताल आउने जबाफ दिए । त्यसपछि क्लिनिक पुग्दा र बुझ्दा उनी बिरामी हेर्नमा व्यस्त थिए । यो नयाँ भने होइन, उनको दिनचर्या हो ।

चैत ३ गते डा.सिंहले प्रतिष्ठान परिसरमा गाडी पार्क गरेका थिए । तर, उनी क्लिनिकमा बिरामी जाँच्न व्यस्त थिए ।

चैत ३ गते डा.सिंहले प्रतिष्ठान परिसरमा गाडी पार्क गरेका थिए । तर, उनी क्लिनिकमा बिरामी जाँच्न व्यस्त थिए ।

उनका बिरामीहरूलाई पनि उनको समय के हो भनेर जानकारी भइसकेको छ । तर, पनि उनीहरू क्लिनिकै उनलाई बिहानदेखि कुरिरहन्छन् । अस्पतालको सरकारी जागिरे डा.सिंहले सरकारको तलबभत्ता खान्छन् र समय भने मुस्किलले दिन्छन् । तर, आफ्नो क्लिनिकमा भने उनी बिरामीको अवस्था हेरेर राति ८/९ बजेसम्म बस्छन् ।

हुन त यो प्रादेशिक अस्पतालको लागि नयाँ कुरा भने होइन । यसअघिका निर्देशक डा.रामनरेश पण्डित पनि बढी समय आफ्नो क्लिनिक र अस्पतालमै भेटिन्थे भने अन्य चिकित्सकको अवस्था पनि उस्तै छ ।

अहिले पछिल्लो केही समयदेखि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह प्रदेशका ८ वटै जिल्लामा सञ्चालित निजी अस्पताल र स्वास्थ्य संस्थाहरूको अनुगमनमा छन् । तर, आफ्नै मातहतमा रहेको प्रादेशिक अस्पतालको अनुगमन उनले गर्न भ्याएका छैनन् । आफ्नै अस्पतालका निर्देशकले सरकारको निर्णयको अवहेलना गरिरहेका डा.सिंहमाथि कारबाही हुन्छ वा हुँदैन भनेर अब हेर्न बाँकी छ ।

प्रतिक्रिया