महायज्ञको नाममा दलितको घर भत्काइएको अभियोगमा तीनविरुद्ध जाहेरी दर्ता

सिरहा । सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञको नाममा दलितको घर भत्काइएको अभियोगमा तीनविरुद्ध जाहेरी परेको छ ।
पीडित दीपक मरिक (डोम) ले गाउँपालिका अध्यक्ष शिवजी यादवसहित तीनजनाविरुद्ध जातीय विभेद तथा छुवाछुत कसुरमा जिल्ला प्रहरी कार्यालय सिराहामा जाहेरी दिएका हुन् ।
पालिका अध्यक्ष यादवसहित वडा नम्बर ५ का पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाविरुद्ध जाहेरी परेको हो ।
जाहेरी दिन दीपक मरिक दोमसहित दलित अगुवाहरू जिल्ला प्रहरी कार्यालय सिराहा पुगेका थिए । बाबा बजरंगीले भनेअनुसार गत फागुन १० गते पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलिप यादवले दीपक मरिक डोम परिवारको घर भत्काएका थिए ।
घटना सार्वजनिक भएपछि शुक्रवार नै पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडा अध्यक्ष दिलिप यादवलाई प्रहरीले पक्राउ गरिसकेको छ । सो घटना पश्चात् शुक्रवार मात्रै सिराहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई गृहमन्त्रालयले तानिएको थियो ।
पालिका अध्यक्ष पक्राउ परेपछि धाक धम्कीका कारण डोमपरिवार विस्थापित भएको छ ।






