यी हुन् आईपीएलको १० टीमका १० कप्तान

काठमाडौं । भारतीय क्रिकेटको महाकुम्भ मानिने इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु भइसकेको छ । शनिवारदेखि सन् २०२५ को आईपीएल सुरु भएको हो । लिगको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोरले कोलकोत्ता नाइट राइडर्सलाई उसकै मैदानमा ७ विकेटले पराजित गर्दै जितसहित सुरुआत गरेको छ ।

यसपटक पनि आईपीएलमा १० टिमले सहभागिता जनाउँदै छ । जसमा आरसिबी, केकेआरबाहेक सनराईजर्स हैदरावाद, चेन्नई सुपर किङ्ग्स, दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, मुम्बई इन्डियन्स, पञ्जाब किङ्ग्स, राजस्थान रोयल्स र लखनउ सुपरजायन्ट्स रहेको छ ।

यसपटक उपाधिमाथि कसले कब्जा जमाउनेछ त्यो हेर्नका लागि हामीले अन्तिमसम्म म्याच हेर्नै पर्छ । तर, यसपटकको लिगमा भने खेलाडीहरूको गत सिजनको तुलनामा निकै फेरबदल गरिएको छ । जसका कारण खेल थप रोमाञ्चक हुने अनुमान गरिएको छ । साविक विजेता केकेआरका कप्तान श्रेयस अय्यर पञ्जाब किङ्ग्समा छन् भने दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्त यस सिजनमा लखनउका लागि खेल्दै छन् ।

जानौँ आईपीएलका १० टिमका १० कप्तानबारे :
१) ऋतुराज गायक्वाडः
गायक्वाडलाई गत सिजनमा चेन्नई सुपर किङ्ग्सको कप्तान नियुक्त गरिएको थियो र, यो सिजनमा पनि उनैले चेन्नईको कप्तानी सम्हालिरहेका छन् ।

गायक्वाडले सन् २०२० मा पहिलो आईपीएल म्याच खेलेका थिए । दाहिने हातका ब्याट्सम्यान ऋतुराजले ६६ म्याचमा हालसम्म २३८० रन बनाएका छन् ।

चेन्नईले हालसम्म ५ पटक आईपीएलको उपाधि हासिल गरेको छ । जारी सिजनमा पनि उपाधि हासिल गर्ने लक्ष्य चेन्नईको रहने छ र, मेहन्द्रसिंह धोनीले पनि त्यसका लागि आफ्नो भूमिका निर्वाह गर्नेछन् ।

२) अक्षर पटेलः दिल्ली क्यापिटल्सको कप्तानको जिम्मेवारी यससिजनमा अक्षर पटेललाई दिइएको छ । अक्षरले सन् २०२४ मा टी–२० विश्वकप र हालै सम्पन्न च्याम्पियन्स ट्रफीमा भारतको जितका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

अक्षर पटेल अलराउन्डर हुन् । उनले सन् २०१३ मा मुम्बई इन्डियन्सको तर्फबाट पहिलोपटक आईपीएल खेलेका थिए ।
सन् २०१४ मा पञ्जाबको तर्फबाट खेल्दै अक्षरले १७ विकेट लिएका थिए र टीमलाई फाइनलमा पुर्याउन मद्दत गरेका थिए ।
सन् २०१९ देखि दिल्लीको तर्फबाट खेल्दै आएका अक्षरले पहिलोपटक कप्तानी गर्दैछन् ।

३) शुभमन गिलः गुजरात टाइटन्सको कप्तानी यस सिजनमा पनि शुभमन गिलले नै गरिरहेका छन् । गिल दाहिने हाथका ब्याट्सम्यान हुन् । उनले सन् २०१८ मा अन्डर १९ विश्वकपमा भारतीय टीमको तर्फबाट सबैभन्दा धेरै रन बनाएका थिए ।
भारतले सो वर्ष अन्डर १९ को विश्वकप पनि जितेको थियो ।

शुभमन गिलले सन् २०१८ मा पहिलोपटक कोलकोत्ता नाइट राइडर्सको तर्फबाट आईपीएल खेलेका थिए ।

४) अजिङ्क्य रहाणेः रहाणे भारतीय क्रिकेट क्षेत्रको विश्वासयोग्य ब्याट्सम्यान मानिन्छन् । रहाणे टीम इन्डियाका साथै मुम्बई र आईपीएलका अन्य टीमका लागि खेलिसकेका छन् । तर, यस पटक उनी कोलकोत्ताको तर्फबाट कप्तान चुनिएका छन् । टीमलाई उनीसँग ठूलो आशा पनि छ ।

सन् २००८ मा आईपीएलको सुरुआत गरेका रहाणेले हालसम्म ४ हजार ६४२ रन बनाएका छन् ।

५) ऋषभ पन्त : पछिल्लो समय दिल्ली क्यापिटल्सका लागि खेल्दै आएका पन्त यसपटक भने लखनऊ सुपर जायन्ट्सको कप्तान बनेका छन् । उनी एक सानदार विकेट किपर ब्याट्सम्यान हुन् ।

सन् २०१६ मा आईपीएल सुरुआत गरेका पन्तले हालसम्म १११ खेलमा ३ हजार २८४ रन बनाइसकेका छन् ।

६) हार्दिक पाण्ड्याः पाँचपटकको उपाधि विजेता मुम्बई इन्डियन्सको कप्तानी यो सिजनमा पनि हार्दिक पाण्ड्याले गरिरहेका छन् । उनले सन् २०१५ मा आईपीएलको सुरुआत गरेका थिए ।

उनले हालसम्म १३७ म्याच खेलेका छन् र २ हजार ५२५ रन बनाएका छन् । उनले आईपीएलको ९२ म्याचमा ४२ विकेट पनि हासिल गरेका छन् ।

अलराउन्डर रहेका पाण्ड्याले भारतीय क्रिकेट टीमका लागि पनि महत्त्वपूर्ण योगदान दिँदै आएका छन् ।

७) श्रेयस अय्यर : कोलकोत्ता नाइट राइडर्सलाई गत सिजनमा उपाधि दिलाएका अय्यरलाई यस सिजनमा पञ्जाब किङ्ग्सको कप्तानीको जिम्मेवारी दिइएको छ ।

अय्यरले सन् २०१५ मा आईपीएल खेल्न सुरुआत गरेका थिए । उनले हालसम्म आईपीएलमा ११६ म्याच खेलेका छन् र ३ हजार १२७ रन बनाएका छन् ।

८) सञ्जु सैमसनः राजस्थान रोयल्सको कप्तानी यस सिजनमा पनि सैमसनले नै गरिरहेका छन् । उनी एक विकेटकीपर ब्याट्सम्यान हुन् । उनले सन् २०१३ बाट आईपीएलको सुरुआत गरेका थिए ।

सैमसनले हालसम्म आईपीएल करियरमा १६८ म्याचमा ४ हजार ४१९ रन बनाएका छन् ।

९) रजत पाटीदार : इन्दौरमा जन्मिएका पाटीदारले यस सिजनमा रोयल च्यालेन्जर्स बैङ्गलोरको कप्तानी सम्हालिरहेका छन् । उनको कप्तानीमा टीमले सिजनको आफ्नो पहिलो खेलमै जित हासिल गरेको छ ।

सन् २०२२ बाट आईपीएल खेल्न सुरु गरेका उनले आईपीएलमा २७ म्याच खेलेका छन् र ७९९ रन बनाएका छन् । उनका लागि आईपीएलको गत सिजन राम्रो रह्यो । उनले गत सिजनमा १५ म्याचमा १७७ भन्दा बढीको स्ट्राइक रेटले ३९५ रन बनाएका थिए ।
कम समयमै कप्तानी सम्हालेका पाटीदारलाई टीममा फिल साल्ट, विराट कोहली जस्ता दिग्गजको पनि साथ भेट्ने छ ।

१०) प्याट कमिन्सः प्याट कमिन्सले यस सिजनमा पनि सनराइर्स हैदरावादको कप्तानी गरिरहेका छन् । उनी एक मात्रै विदेशी खेलाडी छन् जसले आईपीएलको यस सिजनमा टीमको कप्तनीको जिम्मेवारी पाएका छन् ।
कमिन्सले सन् २०१४ मा आईपीएल खेल्न सुरु गरेका थिए ।

उनले हालसम्म आईपीएलको ५८ म्याचमा ५१५ रन बनाएका छन् भने ३७ म्याचमा ३८ विकेट पनि हासिल गरेका छन् ।

प्रतिक्रिया