महोत्तरी हत्या काण्ड: श्रीमतीले नै श्रीमान्को हत्या गराएको प्रहरीको आशङ्का

जनकपुरधाम । महोत्तरीमा एकजना युवकको मृत्यु प्रकरणमा प्रहरीले नयाँ प्रमाण फेला पारेको छ । धनुषा क्षिरेश्वरनाथ नगरपालिका–८ दिगम्पुरका शिवशंकर महतोको हत्या भएको महोत्तरी प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको हो ।

डेढ महिनाअघि मात्र भारतको मुम्बईबाट घर फर्किएका महतोको
गौशाला नगरपालिका–८ सागरनाथ वनस्थित रेल्वे ट्रयाकमा ८ गते साँझ शव फेला परे पनि सनाखत भने शनिवार मात्र भएको थियो ।

प्रारम्भिक अनुसन्धानले उनको हत्या भएको देखाएको जिल्ला प्रहरी प्रवक्ता सन्तुलाल जैसवारले बताए । उनका अनुसार घटनाको अवस्था हेर्दा उनीमाथि धारिलो हतियार प्रयोग पाइएकोले त्यहीअनरुप अनुसन्धान अगाडि बढाइएको हो ।

अहिलेसम्म आफूहरूसँग जाहेरी नआइपुगेको र जाहेरी परेपछि त्यसमा टेकेर अनुसन्धान गर्ने उनले बताए ।

शिवशंकर गरिब परिवारका हुन् । सिर्जनाले शिवशंकरलाई फकाएर जबरजस्ती ससुराली लगेको बुझिएको छ ।

सीसीटीभी फुटेजमा श्रीमती सिर्जनाले महेन्द्रनगरमा दुई वटा मोटरसाइकल ‘स्ट्यान्डबाई’ मा राखेकी थिइन् । बच्चासहित शिवशंकर महेन्द्रनगर पुग्दा दुई वटा मोटसाइकलले उनीहरूको प्रतीक्षा गरिरहेको त्यहाँ रहेको सीसीटीभीमा देखिन्छ । त्यसपछि एउटा मोटसाइकलमा आफू बसेर सिर्जना माइततर्फ लाग्छिन् भने अर्कोमा श्रीमान् शिवशंकरलाई चढाएर अर्कै दिशामा पठाउँछिन् ।

तर शिवशंकर भने शनिवार साँझ मृत फेला परेका काका रामकुमार बताउँछन् । उनी भन्छन्, ‘घरमा त हामी सबै ढुक्क थियौँ, ससुराली गएको छ भन्ने भयो ।’

तर शुक्रवार दिउँसो महोत्तरी प्रहरीबाट एक्कासि मृतक पहिचानका लागि शिवशंकरको घरबाट मान्छे बेलाउन भनेपछि मात्र शिवशंकरको मृत्यु भएको आफूहरूले थाहा पाएको उनले बताए ।

उनका अनुसार अहिले जाहेरी लेखाउने काम भइरहेको छ । प्रहरीका अनुसार शिवशंकरको शव नाङ्गो अवस्थामा थियो भने खुकुरीले शरीरका विभिन्न भागमा काटेको भेटिएको थियो ।

प्रतिक्रिया
    ट्याग: