प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यद्वारा शपथग्रहण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शपथग्रहण लिएको छ । उनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा शपथग्रहण गराएको हो ।

शाक्य नेपाल सरकार, मन्त्रिपरिषद्को चैत ११ को निर्णयअनुसार नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा १७ को उपदफा (१) बमोजिम चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हो ।

शपथग्रहण कार्यक्रममा ऊर्जामन्त्री खड्काले उद्योगीसँग प्राधिकरणले लिनुपर्ने बक्यौता मन्त्रिपरिषद्को निर्णयलाईसमेत मध्यनजर गरी तत्काल असुल गर्ने प्रक्रिया अगाडि बढाउन एवं ग्राहकलाई लोडसेडिङ नहुने अवस्था बनाउन निर्देशन दिए।

मन्त्री खड्काले ऊर्जा क्षेत्र नेपालकै समृद्धिको प्रमुख आधार रहेको भन्दै इमान्दार भएर जनताको पक्षमा नतिजा देखिने गरी काम गर्न निर्देशनसमेत दिए।

मन्त्रालयका सचिव सुरेश आचार्यले अहिलेको चुनौतीपूर्ण अवस्थामा प्राधिकरणको साख जोगिने गरी काम गर्न निर्देशन दिए। नवनियुक्त कार्यकारी निर्देशक शाक्यले मन, वचन र कर्मले आफ्नो योग्यता र क्षमताको अधिकतम प्रयोग गरी प्राधिकरणलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया