काँग्रेस नेता महतोको परिवारलाई पार्टीका नेताहरूद्वारा आर्थिक सहयोग

जनकपुरधाम । नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य स्वर्गीय रामदेव महतोको परिवारलाई कांग्रेस नेताहरूले आर्थिक सहयोग प्रदान गरेका छन्।
धनुषाको मिथिला नगरपालिका–१ निवासी स्वर्गीय महतोको १३औं पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा कांग्रेस नेताहरूले उनको परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहायता हस्तान्तरण गरेका हुन्।

नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महेन्द्र यादवले स्वर्गीय महतोको परिवारलाई दुई लाख रुपियाँको चेक हस्तान्तरण गर्दै उनले पार्टीका लागि दिएको योगदानको स्मरण गरे। महतोको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले पार्टीका साथीहरूको सहयोगले केही राहत पुग्ने विश्वास व्यक्त गरे।

श्रद्धाञ्जली कार्यक्रममा कांग्रेस मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक कुमरकान्त झा, धनुषा कांग्रेसका सभापति योगेन्द्र पजियार, मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतो लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
उक्त अवसरमा उपस्थित नेताहरूले स्वर्गीय महतोको योगदानको चर्चा गर्दै उनको परिवारलाई आवश्यक सहयोग र समर्थन निरन्तर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।






