म्यान्मार भूकम्पः मृतकको सङ्ख्या ३ हजार ३ सय नाघ्यो

एएफपी । म्यान्मारमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजार तीन सय नाघेको छ ।
म्यान्मार सरकारका अनुसार मार्च २८ को भूकम्पले देशभरका भवन र पूर्वाधारहरू ध्वस्त बनेका छन् । यसको परिणामस्वरूप तीन हजार तीन सय ५४ जनाको मृत्यु र चार हजार पाँच सय आठ जना घाइते भएको तथा दुई सय २० जना बेपत्ता भएको सरकारी मिडियाले शनिवार प्रकाशित गरेको नयाँ तथ्याङ्कले जनाएको छ ।
यता, संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त राष्ट्रलाई सहयोग गर्न नयाँ आह्वान गरेका छन् ।
विपद् भएको एक हप्ताभन्दा बढी समयपछि पनि देशका धेरै मानिस अझै आश्रयविहीन छन्, या त तिनीहरूको घरहरू नष्ट भएका कारण या थप भत्किने डरले बाहिर सुत्न बाध्य छन् ।
संयुक्त राष्ट्रसङ्घको एक अनुमानअनुसार ७.७ म्याग्निच्युडको भूकम्पले ३० लाखभन्दा बढी मानिस प्रभावित भएको हुन सक्छ । यसले चार वर्षको गृहयुद्धले निम्त्याएको अघिल्लो चुनौतीहरूलाई थप जटिल बनाएको छ ।
संयुक्त राष्ट्रसङ्घका शीर्ष सहायता अधिकारीले शनिवार मध्य म्यान्माको मण्डाले सहरमा पीडितहरूसँग भेट गरे । मण्डाले भूकम्पको केन्द्र नजिकै अवस्थित छ र अहिले सहरभरि गम्भीर क्षति बेहोरेको छ ।
सन् २०२१ को विद्रोहमा आङ सान सुकीको नागरिक सरकारबाट सत्ता खोसेपछि उहाँको सशस्त्र सेनाले म्यान्मामा शासन गरेको छ । उक्त सैन्य कूले बहुपक्षीय द्वन्द्व निम्त्याएको छ र यो अझै समाधान हुन सकेको छैन ।
वासिङ्टनले शुक्रवार म्यान्मालाई पहिलेको २० लाख डलरको सहायतामाथि थप ७० लाख डलर थप्ने बताएको छ ।






