धोनीले भनेः सन्यासबारे निर्णय गर्न मसँग १० महिनाको समय छ

काठमाडौँ । भारतीय क्रिकेट टीमका पूर्व कप्तान एवं इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्ग्सको तर्फबाट खेलिरहेका महेन्द्रसिंह धोनीले सन्यासबारे प्रतिक्रिया दिएका छन् ।
धोनीले भारतका राज शमानीको पोडकास्टमा आफ्नो सन्यास लिने विषयमा कुराकानी गर्दै भने, ‘म अहिले आईपीएल खेल्दै छु । र, म आफूलाई एक वर्षको समय दिन्छु । अहिले म ४३ वर्षको छु । आगामी जुलाईमा म ४४ लाग्ने छु ।’
उनले थपे, ‘मसँग आईपीएलका लागि १० महिनाको समय हुन्छ । यो जान्नका लागि की म अर्को एक वर्ष खेल्न चाहन्छु वा चाहँदिन । तर, यसको निर्णय मेरो शरीरले गर्छ ।’
भारतीय क्रिकेट टीमका पूर्व कप्तान धोनीले सन् २०२० मा इन्टरनेशनल क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । त्यसपछि उनी चेन्नईका लागि आईपीएल खेल्दै आएका छन् । तर, बढ्दो उमेरकाबीच उनको सन्यासको चर्चा पनि पछिल्लो २ सिजनदेखि हुँदै आएको छ ।
जारी सिजनमा चेन्नईले चार खेलमा एकमा मात्रै जित निकालेको छ भने धोनीको स्लो रन र उनले खेल्दै आएको वरियतामाथि पनि फ्यानले प्रश्न उठाउन थालेका छन् ।
धोनीले सन् २०२३ मा चेन्नईका लागि कप्तानी गर्दै उपाधि दिलाएका थिए । त्यसपछि सन् २०२४ मा उनले कप्तानी छाडेर छैटौँ सातौँ नम्बरमा ब्याटिङ्ग गर्दै आएका छन् ।






