कपिलवस्तुमा फैलिएको झाडापखालामा हैजा गराउने जीवाणु देखियो

काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखालामा हैजा गराउने जीवाणु फेला परेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कृष्णनगर नगरपालिकामा विभिन्न मितिहरूमा सङ्कलन गरिएका नमूनाहरूमध्ये ५५ वर्षका दुई जना, ७२ वर्षका एक जना पुरुष र ४ वर्षका एक जना बालिकामा हैजा गराउने जीवाणु फेला परेको हो ।

मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले हैजा गराउने जीवाणु फेला परेपनि चिन्ताको विषय नरहेको बताए ।

उनका अनुसार सरकारले प्रकोप फैलिएको ठाउँमा आवश्यक औषधि र स्वास्थ्य सामग्रीहरू पठाइसकेको छ भने स्थानीय, प्रदेश र विश्व स्वास्थ्य संगठनसँग निरन्तर समन्वयमा काम गरिरहेको छ ।

प्रवक्ता डा. पौडेलले विश्व स्वास्थ्य संगठनको समन्वयमा विभिन्न मितिमा सङ्कलन गरिएको दिसाका नमूनाहरू परीक्षण गर्दा भिब्रियो कोलेरा ०१ ओगावा नामक जीवाणु फेला परेको बताए । जुन हैजा गराउने जीवाणु रहेको पनि उनले प्रष्ट पारे । यस्तै खानेपानीका १५ नमूनामध्ये ९ जनामा ई.कोइल देखा परेको छ ।

हालसम्म कृष्णनगरमा फैलिएको झाडापखालाका कारण ८ सय ९६ जना सङ्क्रमित भएका छन् । जसमा ४ जनाको मृत्यु भएको छ भने १९ जना उपचाररत छन् । अन्य सङ्क्रमित भने निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया
नागरिक मिरर