लोसपाका मधेस प्रदेश संसदीय दलको नेतामा राइन

धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश संसदीय दलको नेतामा प्रदेशसभा सदस्य जयनुल राइन चयन भएका छन् ।

पार्टीका संसदीय दलका नेता अभिराम शर्मा थमन विक हत्याको आरोपमा दोषी ठहर भएपछि रिक्त पदमा राइन सोमवार चयन भएका हुन् । लोसपाका प्रदेश सभा सदस्य शर्मा थमन विक हत्याको आरोपमा अदालतबाट दोषी ठहर भएपछि मधेस प्रदेशसभाले उनलाई निलम्बन गरेको थियो ।

निलम्बनपछि पनि लोसपाले मधेस आन्दोलनका क्रममा भएका घटना अधिकारका लागि भएको आन्दोलन रहेकाले शर्मा निर्दोष रहेको दाबी गर्दै शर्मालाई संसदीय दलको नेताका रूपमा राखिरहेको थियो ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई राइन मधेस प्रदेशको संसदीय दलका नेता रहेको जानकारी गराएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अन्तरिम विधान प्रथम संशोधनअनुसार मधेस प्रदेशसभामा संसदीय दलको नेतामा प्रदेशसभा सदस्य राइनलाई अर्को व्यवस्था नहुन्जेलसम्म मनोनयन गरिएको अध्यक्ष ठाकुरले लेखेको पत्रमा उल्लेख छ ।

त्यसैगरी, राइनले सोमवारै प्रदेशसभामा यस विषयमा जानकारी गराउँदै संसदीय दलको नेताका रूपमा पदभारसमेत ग्रहण गरेका छन् ।

प्रतिक्रिया
    ट्याग: