जनप्रतिनिधि संलग्न मुद्दामा प्रहरीको मौनता, अपराधलाई प्रशय दिने काम गर्दै

जनकपुरधाम । असोज ८ गते धनुषाको विदेह नगरपालिकाका नगरप्रमुख बेचन दासले आफ्नो कार्यकक्षमा एक जना कर्मचारीलाई बोलाए । उनले पालिकाको बालि विकास अधिकृत चन्देश्वर ठाकुरलाई फोन गरी कार्यकक्षमा काम विशेषले छिट्टो आउन निर्देशन दिएका थिए । नगरप्रमुखको कुरालाई कर्मचारीले वेवास्ता गर्ने कुरै भएन । बालि विकास अधिकृत ठाकुर तुरुन्तै नगर प्रमुखको कोठामा पुगे । जहाँ पहिलेदेखि नगरप्रमुख दास र दास निकट अंगद राय, शत्रुधन राय नामक व्यक्तिहरूको उपस्थिति थियो । एकछिन पालिकाको कृषिसँग सम्बन्धित योजनामा नगर प्रमुख दास र कर्मचारीको सवाल–जवाफ भयो । अधिकृत ठाकुरले नगरप्रमुख दासलाई, आफू आगामी कात्तिकमा अवकाश प्राप्त हुने भएकाले पछिल्लो पेश्कीहरू फर्छयौट गर्न अनुरोध गरे ।

आफूले पछिल्लो पेश्कीहरू फर्छयौट गर्न भनेपछि नगरप्रमुख दासले गत वर्षको विभिन्न योजनाबाट कमिसन मागेको ठाकुरको आरोप छ । दुबै जनाबीच त्यही विषयमा भनाभन भयो । नगरप्रमुख आवेशमा आएर ठाकुरलाई धक्का दिएर गाली गरेको उनको भनाइ छ । त्यती बेलासम्म प्रमुख दासको आवेगलाई उनी निकट रायद्वयले पनि साथ दिइरहेका थिए । अधिकृत ठाकुरले उनीहरूलाई पालिकाको विषयमा बाहिरको मान्छे भएर नबोल्न चेतावनी दिए । रायद्वयले त्यो कुराको इख माने । अचानक तीनै जना अधिकृत ठाकुरमाथि खनिए । गालीगलौज गर्दै कुटपिट गर्न थाले ।

‘मलाई कुटपिट नगर्नुस् भन्दै कराइरहे तर, उनीहरूले मानेन् । मर्यादाको ख्याल गर्दै जसोतसो म उम्किन सफल भए’ दास आफ्नो पीडा सुनाउँछन् ।

ज्यान बचाएर बाहिर गएका कर्मचारीले मेयरको निर्देशनमा आफूमाथि कुटपिट भएको गुनासो गरे । केही कर्मचारीले पत्याएँ भने केही मौन बसे । त्यसपछि अधिकृत ठाकुर, आफूमाथि अन्याय भएको भन्दै गत सोमवार जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिन पुगे । त्यहाँ प्रहरी उपरीक्षक (एसपी) प्रकाश राणाभाट र प्रहरी नायव उपरीक्षक (डिएसपी) जितेन्द्र बस्नेतलाई आफूमाथि भएको घटनाबारे सुनाए । आफूले मुद्दा दर्ता गर्ने निधो गरेको धारणा पनि राखे । कुटपिटमा संलग्न तीनै जनामाथि मुद्दा दर्ता गरी न्याय पाउने उनको भनाइ थियो । तर, प्रहरीले भनाइको वेवास्ता गर्यो ।

‘एसपी र डिएसपी साबलाई भेटे । उहाँहरूले मेयरमाथि मुद्दा लाग्दैन् । मेयरमाथि मुद्दा दर्ता गरायो भने कमजोर हुन्छ,’ उनले एसपी र डिएसपीले भनेको कुरा उद्धृत गर्दै भने, ‘मेयरलाई छोडेर बाँकीमाथि मुद्दा लिएर आउनुस् । मुद्दा दर्ता हुन्छ । नत्र मेयरमाथि मुद्दा दर्ता हुँदैन ।’ त्यति भनेपछि मैले रायद्वयमाथि अभद्र व्यवहार तथा कुटपिटको मुद्दा दर्ता गराए ।

गत्त भदौं २४ गते पनि जनकपुरधाम उपमहानगरपालिका १३ ज्ञाननगरमा नगरप्रमुख बेचन दासले चन्द्रकला देवीलाई कुटपिट ग¥यो । आफ्नो कुरा काटेको (नाकारात्मक टिकाटिप्पणी) कारण उनको घरमै पुगेर गाली गलौज तथा कुटपिट गरेको पीडित महिलाको आरोप छ । कुटपिट भएको भोलि पल्ट ती महिलाले जिल्ला प्रहरी कार्यालय धनुषा पुगेर न्याय मागिन् । मुद्दा दर्ता गरिदिन आग्रह गरिन् । तर, प्रहरीले मुद्दा नै दर्ता गरेनन् ।

‘यो देशमा ठुलो मान्छेलाई मात्रै न्याय पाउने अधिकार छ की ? प्रहरीले मेयरसँग मिलेर मेरो मुद्दा दर्ता गरेनन्,’ उनले भनिन्, ‘प्रहरी मेयरसँग डराएको छ की घुस लिएको छ । थाहा भएनन् । तर, मेरो मुद्दा दर्ता गर्न मानेनन् ।’

मुद्दा दर्ता भयो, तर पक्राउ परेन

धनुषाको हँसपुर नगरपालिकाको कार्यालय सार्ने विषयमा भएको विवादमा एक जना स्थानीयको मृत्यु भयो । नगर प्रमुख रामज्ञान मण्डर र उपप्रमुख रेणु झाबीचको विवादमा ०७६ भदौ १८ गते ५५ वर्षीय तपेश्वर मण्डलको मृत्यु भएको थियो । मृतक तपेश्वरका छोरा राजकुमार मण्डलले नगर प्रमुख मण्डलसहित तीन जनाविरुद्ध भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराए । यो मुद्दा दर्ता गराउन उपप्रमुख झाले सघाएको उनको आरोप छ । त्यसको तीन दिनपछि नगर प्रमुख मण्डल पक्षधरले पनि उपप्रमुख झामाथि मुद्दा दर्ता गरायो ।

राजनीतिक दवाब प्रभावमा परेर प्रहरीले मुद्दा दर्ता त ग¥यो । तर, दुई वर्षसम्म कसैलाई पक्राउ गरेन । घटनामा दुबै पक्षले धनुषा प्रहरीमा ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराए पनि कुनै पक्षका व्यक्ति पक्राउ परेनन् । गत साउन ११ गते एक जना मेयर पक्षका आरोपी श्याम राउतले धनुषा प्रहरीमा आत्म सम्पर्ण गरी मुद्दा किनारा लगाउने प्रयास गर्यो । पछि नगरप्रमुख मण्डल पनि प्रहरीको सेटिङ्मा कानून व्यवसायीमार्फत जिल्ला अदालत धनुषामा हाजिर भएँ र धरौटीमा रिहा भए ।

यसरी पञ्छिने गरेको छ, प्रहरी ?

‘अस्ती म कहाँ आउनु भएको थियो । मैले नगरप्रमुख बाहेक बाँकी व्यक्तिमाथि जाहेरी लेखाएर ल्याउनुस् । अहिले त्यो विषयमा मलाई थाह भएन, डिएसपी सावलाई सोध्नुस् त,’ धनुषाका एसपी प्रकाश राणाभाटले कर्मचारी कुटपीट घटनामा के हुँदै छ भनेर सोधेको प्रश्नको जवाफ हो, यो । ‘जाहेरी दर्ता भएको छैन् । पहिला आरोपीतलाई बोलाएर बुझ्छु । दोषी देखिए मात्रै मुद्दा दर्ता हुन्छ,’ यो जवाफ हो धनुषाका डिएसपी बस्नेतको । माथि उल्लेखित घटना धनुषाको प्रतिनिधि मुलक घटना मात्र हुन् । यस्तो घटना निरन्तर दोहोरिने गरेको छ । तर, प्रहरीले जनप्रतिधिनि संलग्न मुद्दा सहजै दर्ता गर्न मान्दैन । दर्ता भएपनि कारवाहीको प्रक्रिया अगाडी बढ्दैन ।

प्रहरीमाथि बारम्बार यस्ता आरोप लाग्ने गरेको छ । जनप्रतिनिधि मात्रै होइन अन्य पनि कुनै अपराधका घटना भएको खण्डमा प्रहरीले कारबाही गर्न ढिलासुस्ती गर्छ भने घटनाबारे जानकारी हुँदाहुँदै पनि दोषीलाई कारबाहीको दायरमा ल्याउन आनाकानी गर्ने गरेको देखिन्छ । जसका कारण कतै न कतै अपराध गर्नेको मनोबल पनि उच्च भएको महसुस हुन्छ । प्रहरीले चाहेको खण्डमा सबै अपराधको कारबाही गर्न सक्छ । तर, किन प्रहरीले आफूमाथि दाग लाग्न दिन्छ भन्ने कुरा अझैपनि बुझिनसक्नु छ ।

प्रतिक्रिया
कमलेश ठाकुर

उहाँ नागरिक मिररको प्रदेश २ प्रतिनिधि हुन् । मोबाईल नम्बर : ९८१२१११७१८