सिँचाईका लागि सीतापुर खोरियामा ट्युवेलको शिलान्यास

जनकपुरधाम । प्रदेशको समृद्धिको आधार, खेत खेतमा सिचाई भन्ने अभियान अन्तर्गत धनुषाको बटेश्वर गाउंपालिकामा सिचाईका लागि पावर ड्रिल ट्युवेलको शिलान्यास गरिएको छ ।
मधेश प्रदेश सरकारको उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयद्वारा बटेश्वर गाउंपालिका २ सितापुर खोरियामा श्री वनदेवी सिचाई आयोजना अन्तर्गत सो पावर ड्रिल ट्युवेल जडान गर्न लागिएको हो । बुधवार एक समारोहका बीच नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादव र उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले संयुक्त रूपमा सो सिचाई ट्युवेलको शिलान्यास गरेका हुन ।
करीब १६ लाख रूपैयाको लागतमा ६ इन्च चौडाई र १२५ मीटर गहराईमा जडान गरिने मन्त्रालयका ईन्जिनीयर अमलेश यादवले जानकारी दिएका छन् । सो पावर ड्रिल ट्युवेलले सो क्षेत्रका दुई दर्जन साना किसानका करीब २० विघा जग्गामा सिचाईका पानी पुग्ने उनले बताए । सिचाई आभावमा सो क्षेत्रका सयौ विघा जग्गा बांझो अवस्थामा छ यो ट्युवेलले केही किसानलाई राहत पुग्ने श्री वनदेवी सिचाई आयोजनाका अध्यक्ष जनार्दन प्रसाद राईले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले संघीय सरकारको विभेदका कारण सयौ ठूला सिचाई तथा खानेपानी आयोजना अलपत्र अवस्थामा छ । मधेश प्रदेश सरकारले न्यून बजेट भएपनि स साना आयोजना संचालन गरी सकेसम्म कृषिमा देखिएका सपचाई समस्या समाधान गर्ने प्रयासमा रहेको बताए ।






