अमेरिकाबाट आयात हुने सामग्रीमाथि थप ५० प्रतिशत कर लगाउने चीनको घोषणा

काठमाडौँ । चीनले अमेरिकाबाट आयात हुने सामग्रीमाथि थप ५० प्रतिशत टैरिफ (कर) लगाउने घोषणा गरेको छ ।
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएदेखि नै उनले विभिन्न मुलुकमाथि मनपरी कर लगाउन थालेपछि त्यसको असर विश्व बजारमा पनि देखिन थालेको छ । जसको परिणाम स्वरुप चीनले अमेरिकी सामानमाथि यसअघि घोषणा गरेको ३४ प्रतिशत करलाई बढाएर ८४ प्रतिशत बनाएको बीबीसीले लेखेको छ ।
चीनको अर्थ मन्त्रालयले अमेरिकाबाट आयात हुने सबै प्रकारका सामानमाथि अतिरिक्त टैरिफ लगाउने बुधवार घोषणा गरेको हो ।
मन्त्रालयका अनुसार नयाँ कर शुल्क अप्रिल १० अर्थात् बिहीवार चिनियाँ समय अनुसार राति १२ बजेर १ मिनेटदेखि नै लागू हुनेछ ।
यसअघि अमेरिकाले चीनमाथि ५० प्रतिशत अतिरिक्त टैरिफ लगाउने घोषणा गरेको थियो । जुन वृद्धि भएर १०४ प्रतिशत पुगेको छ ।
यसैबीच, चिनियाँ राष्ट्रपति सी जिन पिनले अमेरिकाको टैरिफ युद्धबाट लड्नका लागि छिमेकी मुलुकहरु एकजुट हुनुपर्ने आवश्यकता रहेको बताएका छन् ।






