‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक, तथ्यांकमार्फत नेपाल बुझ्ने दस्तावेज

काठमाडौं । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्स (फ्याक्ट्स नेपाल) ले नेपालको समसामयिक अवस्था, प्रमुख क्षेत्रहरू र प्रवृत्तिहरूको गहिरो विश्लेषणसहित तयार गरिएको वार्षिक तथ्यांक पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ को १०औं संस्करण सार्वजनिक गरेको छ।
डेटा र इन्फोग्राफिक्समा आधारित यो पुस्तकले नेपालसम्बन्धी विविध क्षेत्रगत पक्षहरूको तथ्यांक समेट्दै पाठकलाई सूचनामूलक अन्तर्दृष्टि प्रदान गर्ने उद्देश्य राखेको छ। यस संस्करणमा नेपाल प्रोफाइल, प्रादेशिक प्रोफाइल, समष्टिगत आर्थिक परिदृश्य, प्रमुख आर्थिक क्षेत्रहरू, पूर्वाधार र सञ्चार, सामाजिक आयामहरू, सार्वजनिक सुरक्षा लगायतका ८ खण्ड र ६४ उपखण्ड समावेश छन्।
पुस्तकमा विशेष रूपमा वि.सं. २०७२ को विनाशकारी भूकम्प र पछिल्लो कोभिड-१९ महामारीपछि मुलुकका विभिन्न क्षेत्रहरूमा देखिएको प्रभावलाई तथ्यांकसहित छुट्टै अध्यायमा समेटिएको छ। यसले पाठकलाई नेपालको पछिल्लो सामाजिक, आर्थिक र पूर्वाधार सम्बन्धी विकासक्रमबारे स्पष्ट तस्वीर दिने विश्वास गरिएको छ।
वि.सं. २०१२ मा स्थापना भएको फ्याक्ट्स नेपालले अनुसन्धान तथा विश्लेषणात्मक परियोजनामार्फत सूचनामूलक तथ्यांक तथा इन्फोग्राफिक्स उत्पादन गर्दै आएको छ। संस्थाले सामाजिक सञ्जालदेखि राष्ट्रिय टेलिभिजन, पत्रपत्रिका, अनलाइन पोर्टलहरूसँग सहकार्य गरी तथ्यांक प्रसारमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ।
पुस्तकको मूल्य रू. ५०० तोकिएको छ। पाठकहरूले thuprai.com मार्फत अनलाइन अर्डर गरी पुस्तक प्राप्त गर्न सक्नेछन् भने कथालय यस पुस्तकको वितरण साझेदार रहेको छ। सार्वजनिक प्रक्षेपणको अवसरमा ३० प्रतिशत छुट समेत उपलब्ध गराइएको छ।
फ्याक्ट्स अफ नेपाल २०२५ पुस्तकले नीतिनिर्माता, अनुसन्धानकर्ता, विद्यार्थी तथा डेटा र अनुसन्धानमा रुचि राख्ने सबैका लागि एक सशक्त स्रोतको रूपमा काम गर्ने अपेक्षा गरेको छ।






