शिक्षक आन्दोलन १८ औँ दिन पनि जारी

काठमाडौं । नेपाल शिक्षक महासंघको काठमाडौँ केन्द्रित आन्दोलन १८ औँ दिन पनि जारी छ ।

शिक्षक कर्मचारी मैत्री ऐन जारी गर्न माग गर्दै देशभरका सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरु गत चैत २० देखि सडक आन्दोलनमा छन् । उनीहरुले २५ चैतदेखि शैक्षिक हड्ताल समेत घोषणा गरेर आन्दोलन जारी राखेका छन् ।

उनीहरुको आन्दोलनका कारण वैशाख २ गतेदेखि सुरु भएको विद्यालय भर्ना अभियान, पाठ्यपुस्तक वितरण, एसईईको उत्तरपुस्तिका परीक्षण लगायत सम्पूर्ण शैक्षिक गतिविधि प्रभावित भएको छ ।

आन्दोलनले ११ वैशाखदेखि सुरु हुने कक्षा १२ को वार्षिक परीक्षा पनि प्रभावित हुने चिन्ता छ । यद्यपि राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै समय तालिका अनुसार परीक्षा सञ्चालन हुने जनाएको छ ।

यसैबीच, शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छुट्टाछुट्टै छलफल गरेका शिक्षक महासंघका नेताहरु तत्कालै शिक्षा ऐन जारी हुनेमा आश्वस्त हुन सकेका छैनन् । त्यसैले उनीहरुले आन्दोलनलाई आज पनि जारी राखेका छन् ।

प्रतिक्रिया