जनकपुर उपमहानगरमा अविलम्ब नगर शिक्षा योजना बनाउ : वक्ताहरु

सरकारको अभियान हामी सहयोगी : समुन्नत नेपाल

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा नगर शिक्षा योजना नहुँदा शिक्षा क्षेत्रमा काम गर्ने समस्या भईरहेकोले अविलम्व नगर शिक्षा योजना बनाइ कार्यान्वयन गर्न एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उपमहानगरका प्रमुख मनोज कुमार साहलाइ उक्त कार्यक्रमका वक्ताहरुले यसतर्फ ध्यानाकर्षण समेत गराएका छन् ।

समुन्नत नेपाल काठमाडौँद्वारा आयोजित एक कार्यक्रममा वक्ताहरुले अझै पनि विद्यालय बाहिर रहेको बालबालिकाहरुको संख्या अत्यधिक रहेकोले यसतर्फ विशेष रुपमा चासो दिन नगर प्रमुख साहसँग आग्रह गरे ।

समुन्नत नेपालका प्रतिनिधिहरुले गुणस्तरीय शिक्षा र समुदाय सशक्तीकरणका माध्यमवाट नवीन कार्यक्रमहरू अघि बढाउदै सरोकारवालाहरूसंग सहकार्य गरेको बताए । समुन्नत नेपाल र युनिसेफको सहयोगमा सञ्चालित विद्यालाय बाहिर रहेका किशोर किशोरीहरूलाई शिक्षा, सीप विकास र रोजगारीका अवसरहरू प्रदान गर्न सहजीकरण गर्ने जनाए ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले परियोजनालाई परिणाममुखी र स्थानीय तहसँगको समन्वय र सहकार्यमा कार्यान्वयन गर्न आग्रह गरे । उनले यस्ता अभियानले हजारौ बालबालिकाहरूलाई विद्यालयमा भर्ना गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव निलकण्ठ ढकालले दलित र सीमान्तकृत समुदायमा शिक्षाको महत्वबारे जानकारीको कमी, आर्थिक अभाव, नागरिकता र जन्मदर्ता नहुनुजस्ता समस्याहरूले गर्दा बालबालिकाहरु पठ्नपाठनबाट बञ्चित रहेकोतर्फ ध्यानाकर्षण गराए । साथै मुलुकलाई साक्षर घोषणा गर्नु सरकारको अभियानको रूपमा रहेको उनले बताए ।

समुन्नत नेपालका निर्देशक पवन अधिकारीले मधेश र लुम्बिनी प्रदेशका क्रमश १३६ र १०९ वटा स्थानीय तहसँग समुन्नत नेपालले समन्वय गरि कार्यक्रम गरिरहेको जानकारी गराए । अधिकारीले सरकारको अभियानमा आफूहरुले सहयोग गरिरहेको बताए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा प्रमुख धिरेन्द्र कर्ण, अञ्जु पाण्डे, सामाजिक विकास समितिका अध्यक्ष मिथिलेश कर्ण, समुन्नत नेपालका टिम लिडर नवराज जोशी, फिल्ड अधिकृत राम एकवाल महरा, हनुमान सामुदायिक सिकाई केन्द्रका अध्यक्ष उषा साह लगायतको उपस्थिति रहेको थियो ।

समुन्नत नेपाल र मधेश सरकारबीच समझदारी

यसअघि शुक्रवार समुन्नत नेपालले उक्त अभियानलाई सफल पार्ने कार्यका लागि मधेश प्रदेशका सबै स्थानीय तहहरु (१३६ वटा) मा कार्यक्रम संचालन गर्न मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालयसँग सम्झदारी पत्रमा हस्ताक्षर गरेको थियो ।

मन्त्रालयको तर्फबाट सचिव दिलिप ठाकुर र समुन्नत नेपालको तर्फबाट निर्देशक पवन अधिकारीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरि एकअर्का बीच आदानप्रदान गरेका थिए ।

उक्त समझदारी पत्र हस्ताक्षर समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौँका उपसचिव निलकण्ठ ढकाल, शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेशका अधिकृत लक्ष्मण राम, समुन्नत नेपालका टिम लिडर नवराज जोशी, फिल्ड अधिकृत राम एकवाल महरालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया