देशभर वर्षाका कारण ७७ जनाको मृत्यु, के के भयो दिनभर ?


काठमाडौं । आइतवारदेखि लगातार परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुवानबाट देशभर ७७ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का प्रवक्ता डा. डिजन भट्टराईका अनुसार अझै २७ जना हराइरहेका छन् भने २३ जना घाइते भएका छन् ।

बेमौसममा परेको पानीका कारण जनधन दुबैको क्षति भएको छ भने नागरिकको जनजीवन कष्टकर बनेको छ ।

भट्टराईका अनुसार मानिसहरू बेपत्ता रहेका कारण मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने छ ।

वर्षाका कारण सबैभन्दा धेरै प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशमा मानवीय क्षति भएको छ ।

हालसम्मको तथ्याङ्क अनुसार पाँचथरमा मात्रै २८ जनाको मृत्यु भएको छ । गएरातिदेखि आजसम्मको पानीले पाँचथरको मिक्लाजोङ गाउँपालिकामा २१ जनाको मृत्यु भएको छ । पहिरोमा २ जना बेपत्ता रहेका छन् । यस्तै, फिदिम नगरपालिका ४ मा २ जना, फाल्गुनन्द गाउँपालिकामा ३ जना र कुम्मायक गाउँपालिमा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
लगातारको वर्षापछिको पहिरोका कारण इलाममा पनि मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । फाकफोकथुम गाउँपालिकामा एकै परिवारका ४ सहित ६ जनाको पहिरोले पुरिँदा मृत्यु भएको छ । यस्तै, माङसेवुङ गाउँपालिका ६ को पञ्चमी बजार नजिक पहिरोमा पुरिएकामध्ये २ जनाको शव निकालिएको छ । यस्तै फाकफोक गाउँपालिकाकै १ नम्बर वडा ठिङ्गेपुरमा पहिरोले पुर्दा २ जनाको मृत्यु भएको छ ।
सुदुरपश्चिमको बझाङमा बेपत्ता भएकामध्ये २ जनाको शव फेला परेको र अन्य २१ जना अझै बेपत्ता रहेका छन् । यस्तै बैतडीमा पनि पहिरोका कारण ३ जनाको मृत्यु भएको छ ।

यस्तै कर्णाली प्रदेशमा पनि हुम्लामा एकै परिवारका ६ जना सहित ८ जनाको पहिरोका कारण मृत्यु भएको छ । हुम्लाको खापुर्नाथ गाउँपालिका वडा ५ खर्पेल गाउँमा पहिरोमा पुरिँदा ६ जनाको मृत्यु भएको हो । कर्णाली प्रदेशले पनि पहिरो प्रभावितलाइ प्रदेश स्तरबाट सहयोग गर्ने जनाएको छ ।

केन्द्र सरकारले पनि बाढी, पहिरो र डुवान प्रभावित नागरिकलाई राहत तथा उद्दारका कार्यक्रम घोषणा गरेको छ । मृतकका परिवारलाई सहयोग रकम दिने, घर भत्किएकालाई घर बनाउन रकम दिने देखि घाइतेलाई निःशुल्क उपचार सम्मको निर्णय आज बसेको मन्त्रीपरिषद बैठकले गरेको छ ।

सरकारले पहिरो प्रभावितमध्ये पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । यस्तै घर निर्माणका लागि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराइनेछ । यस्तै, सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाका परिवारलाई कम्तीमा दुई लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय पनि गरेको छ ।

यसअघि आज बिहान बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समितिको बैठकले बाढी पहिरोले पूर्ण क्षति पु¥याएका परिवारलाई अस्थायी घर बनाउन ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा सात वटै प्रदेशका मुख्यमन्त्री र सचिवहरूको सहभागिता रहेको थियो ।

कार्यकारी प्रमुख अनिल पोखरेलले विपदका कारण भएको क्षतिको विषयमा जानकारी लिनका लागि भोलि प्रधानमन्त्रीसहितका टोलि फिल्डमा खटिने बताए ।

उनले भित्र्याउने बेलामा धानमा क्षति भएको विषयमा पनि अध्ययन गरेर किसानलाई कसरी राहत दिन सकिन्छ भन्ने विषयमा पनि काम हुने र राहतका लागि छुट्टै कोषको स्थापना गर्ने निर्णय भएको बताए ।

बैठकले जलवायु परिवर्तनका असरले नेपालमा बेमौसमी असर भोग्नुपरेको निष्कर्ष निकालेको छ ।

यस्तै सरकारले अविरल वर्षापछि आएको बाढी–पहिरो र डुबानमा परेकाहरूको खोजी तथा उद्धारमा निजी कम्पनीका हेलिकोप्टरको पनि प्रयोग गर्ने निर्णय गरेको छ ।

यसैबीच, सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिनुभयो । घर निर्माणका लाथि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराइनेछ ।

यस्तै, सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाका परिवारलाई कम्तीमा दुई लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद्को बैठकले एक जनाको मृत्यु भएको परिवारलाई २ लाख र सोही परिवारका थप सदस्यको मृत्यु भएमा मृतक प्रति सदस्य थप एक लाख रुपैयाँका दरले अतिरिक्त रकम दिने निर्णय गरेको हो ।

बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ । बैठकले राहत र उद्धारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय पनि गरेको छ ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढी पहिरोका कारण खानेपानीको मुहान दूषित हुने भएकाले पानी शुद्धिकरण गरेर मात्रै पिउन आग्रह गरेको छ ।

प्रतिक्रिया
नागरिक मिरर