धनुषामा स्कर्पियो दुर्घटना, दुई चिनियाँसहित तीजजना घाइते

जनकपुरधाम। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित राजदेवी मन्दिर नजिकैको मोडमा स्कर्पियो गाडी दुर्घटना हुँदा दुई चिनियाँ नागरिकसहित तीनजना घाइते भएका छन्।
ढल्केवर–जनकपुरधाम सडकखण्ड अन्तर्गत सोमबार साँझ करिब ६ बजेको समयमा मोडमा अनियन्त्रित भएर गाडी दुर्घटना भएको हो। सिरहाबाट जनकपुरधामतर्फ जाँदै गरेको बागमती बिएइ ०९३९ नम्बरको स्कर्पियोमा सवार दुईजना चिनियाँ नागरिक, एकजना नेपाली नागरिक घाइते भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक नितेशकुमार सिंहले जानकारी दिए। यता गाडी चालक सकुशल गरेको उनले बताए।
चिनियाँ नागरिकको अवस्था सामान्य रहेको र एकजना नेपाली अवस्था मध्यम रहेको प्रहरी निरीक्षक सिंहले जनाएको छ।
उनका अनुसार घाइतेहरूको जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।






