प्रावि, निमावि र मावि तहका गरी झन्डै १७ हजार २ सय २३ शिक्षकका लागि दरबन्दी खुलाइने
काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षकहरूको पदपूर्तिका लागि विज्ञापन खुलाउने भएको छ ।
आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले प्रावि, निमावि र माध्यमिक तहका गरी झन्डै १७ हजार २ सय २३ दरबन्दी खुलाइने नागरिक मिरर डटकमलाई बताए ।
उनले शिक्षक सेवा आयोग शिक्षकहरूको पदपूर्तिका लागि विज्ञापन खुलाउने तयारीमा रहेको र शिक्षा नियमावली संशोधन हुनासाथ विज्ञापन खुलाइने बताए ।
ऐच्छिक विषय अन्तर्गत संस्कृतको माध्यमिक तर्फ न्याय र निम्न माध्यमिक तहमा कर्मकाण्ड विषयको पाठ्यक्रम बनाउन बाँकी रहेको तथा शिक्षा नियमावली पनि संशोधन हुन बाँकी रहेकाले मात्रै ढिलाई भएको उनको भनाइ छ ।
यी दुई काम हुनासाथ अबको १५÷२० दिनमा पाठ्यक्रम बनिसक्ने भन्दै उनले विज्ञहरू अहिले बाहिर रहेका कारण बन्न नसकेको पनि उल्लेख गरे ।
आयोगले ६ महिनाअघि नै शिक्षक सेवा नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । शिक्षामन्त्री नियुक्त नहुँदा नियमावली संशोधन प्रक्रिया अघि बढ्न सकेको थिएन । नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक बढुवा र शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षालगायत काम सबै अड्किएका छन् ।
तर, अब शिक्षा मन्त्री नियुक्त भइसकेको अवस्थामा सम्भवतः छिट्टै नियमावली पनि संशोधन हुने मरहट्ठाको विश्वास रहेको छ ।
आयोगको नियमावली २०५७ को दफा (१८) र (३८) नम्बरको बुँदा संशोधन नहुँदा विज्ञापन खुलाउन नसकेको हो । सो बुँदा संशोधन गरी खुला प्रतियोगितात्मक परीक्षा बनाउनुपर्ने गरी प्रस्ताव लगिएको आयोगले जनाएको छ । यस्तै, दफा ३८ को परीक्षाको पाठ्यक्रम तथा बढुवा सिफारिससम्बन्धी अन्य व्यवस्थाको दुई नम्बर बुँदा संशोधन गर्ने गरी प्रस्ताव लगिएको छ ।
नियमावली संशोधन भई पारित भए माध्यमिक तहमा १ हजार ५ सय ४४, निम्न माध्यमिक तहमा २ हजार ५ सय ९४ र प्राथमिक तहमा १३ हजार ८५ स्थायी शिक्षक छनोट गर्ने तयारी आयोगको रहेको उनले जानकारी दिए ।