काठमाडौं महानगरले निजी विद्यालयलाई भन्योः जेठको पहिलो साताभित्र छात्रवृत्ति वितरण गर्नु

काठमाडौं । काठमाडौं महानगरपालिकाले जेठको पहिलो साताभित्र निजी विद्यालयलाई छात्रवृत्ति वितरण गर्न निर्देशन दिएको छ ।

काठमाडौं महानगरपालिकाले मङ्गलवार सूचना जारी गर्दै अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ अनुसार गरिब, अपाङ्गता, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति वितरण गरिसक्न निर्देशन दिएको हो ।

महानगरपालिकाले सूचनामा भनेको छ, ‘काठमाडौं महानगरपालिकाअन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूले कक्षा १ देखि कक्षा १० मा छात्रवृत्ति उपलब्ध गराउँदा अनिवार्य तथा निशुल्क शिक्षा ऐन, २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ अनुसार जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपा‌ङ्गता, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनु पर्ने व्यहोरा अवगतै छ।’

शैक्षिक सत्र २०८२ मा पनि कक्षा १ देखि १० सम्म विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा दस प्रतिशतमा नघट्ने गरी तोकिए बमोजिम छात्रवृत्ति उपलब्ध गराउन विद्यालयको सूचना पाटीमा सूचना टाँस गर्न पनि महानगरको आग्रह छ। सम्बन्धित विद्यार्थी तथा निजका अभिभावकबाट आवेदन लिई २०८२ जेठ पहिलो साताभित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउनु महानगरले अनुरोध गरेको हो।

छात्रवृत्ति वितरण गर्दा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) मा रहेको देहाय बमोजिमको छात्रवृत्ति छनौट समितिको निर्णयबाट मात्र छात्रवृत्ति वितरण गर्न पनि भनेको छ।

प्रतिक्रिया