पहलगाममा मारिएका सुदीपकी आमा भन्छिन्ः आफ्नै आँखा अगाडी छोरालाई गोली हानियो, म भित्र बाँच्ने इच्छा छैन

काठमाडौँ । भारतको जम्मु काश्मिरको पहलगाममा मारिएका सुदीप न्यौपानेका परिवारको आँसु अझै सुकेको छैन ।
गत २२ अप्रिलमा पहलगाम आक्रमणमा २६ जना पर्यटकको गोली हानी हत्या गरिएको थियो । तीनै २६ मध्येका एक थिए, बुटवलका २८ वर्षीय सुदीप न्यौपाने ।
सुदीप आफ्ना आमा रिना पाण्डेय, भिनाजु युवराज काफ्ले र दिदी सुषमा काफ्लेसँग पहलगाम घुम्नका लागि गएका थिए । उनीसँगै अन्य २० जना पनि टोलीमा थिए ।
२१ अप्रिलमा श्रीनगर पुगेका सुदीप २२ अप्रिलका दिन पहलगाम घुम्नका लागि पुगेका थिए । सुदीपका भिनाजु युवराज भन्छन्, ‘फायरिङ्गको आवाज सुन्दा स्थानीयले भने जङ्गली जनावर भगाउनका लागि यस्तो गरिन्छ । तर, फायरिङ्गको आवाज नजिक आइसकेको थियो । त्यतिकैमा एकजना नकाबधारी हतियारसहित हाम्रो नजिक आइपुग्यो । उसले धम्की दिँदै हामीलाई भन्यो हिन्दू धर्म भएका एकदिशा र मुस्लिम अर्कोतर्फ होऊ ।’
उनले थपे, ‘स्थानीयले बुझिसकेका थिए के हुनेवाला छ भनेर । उनीहरूले हामीलाई सानो स्वरमा भने घुँडा टेकेर बस र अल्लाहको नाम लेउ । म मुस्लिमवाला लाइनमा गएर बसिहाले अनि मेरो ज्यान जोगियो ।’
युवराज भन्छन्, ‘सुदीपले झूठो बोलेन र ऊ हिन्दुवाला लाइनमा गएर बस्यो । सुदीपभन्दा पहिले तीनजनाको गोली हानेर हत्या भइसकेको थियो । उसले आफूलाई म नेपाली हुँ भनेर भन्दै रह्यो तर, हिन्दु हुनु उसको लागि महँगो पर्यो । सुदीपलाई हिन्दू भएकै कारण मारियो । उसको जागिरमा छुट्टी मिलाउन गाह्रो हुँदाहुँदै हाम्रो लागि समय मिलाएर आएको थियो । काश उसलाई हामीले नलगेको भए ऊ हामीबीच हुने थियो ।’
उनी भन्छन्, ‘काश्मीरका लागि पाकिस्तान र हिन्दुस्तान आपसमा लडिरहेका छन् । यो दुई देशको लडाई हो । तर, हामी त तेस्रो मुलुकको पर्यटक थियौँ । हामीलाई किन मारियो ? यदि हाम्रो हिन्दु हुनु अपराध हो भने हामीले नेपालमा कहिल्यै पनि हिन्दु–मुसलमान भनेर विभेद गरेनौँ । बुटवल शहरमा राम्रो सङ्ख्यामा मुसलमानको बसोबास छ तर, कहिल्यै पनि दुबै समुदायबीच दुश्मनी रहेन । मेरो सालोको ज्यान हिन्दु भएकै कारण गएको छ । तरपनि मलाई मुसलमानसँग कुनै गुनासो छैन । तर, भारत सरकारप्रति भने मेरो रिस छ । भारत सरकारले सुरक्षाको सुनिश्चितता गर्न सकेन । र, मेरो सालो जस्ता २६ जनाको ज्यान अकालमै गयो ।’
सुदीपकी आमाका लागि छोरो गुमाउनुको पीडा कसैले बुझिनसक्नुको छ । सुदीपको जन्म पछि रिनाको आफ्नो श्रीमान् ध्रुव न्यौपानेसँग सम्बन्धविच्छेद भयो । सुदीप रिनाको एक्लो छोरो थिए ।
रिना भन्छिन्, ‘मैलो आतङ्कवादिलाई भने की गोली मलाई हान मेरो छोरोलाई छाडिदेउ । अब म भित्र केही पनि बाँकी छैन । मैले आफ्नो आँखै अगाडी आफ्नो छोरोको हत्या देखे । मेरो छोरोले भनिरह्यो म नेपाली हुँ । हो, उसले झूठो बोलेन की ऊ मुसलमान हो । मेरो छोरोको हत्या हिन्दु भएको कारणले गरियो । के भारत सरकार यसरी नै हिन्दुहरूको सुरक्षा गर्दैछ ? मेरो एउटै छोरा थियो, अब मेरो देखभाल कसले गर्छ ?’
रिना भन्छिन्, ‘मेरो छोरा अल्लाह भनेर झुकेन र उसलाई आतङ्कवादिले गोली हानेर मारिदियो ।’
बीबीसी






