भारत-पाकिस्तानबीच युद्धस्थितिः शैक्षिक संस्था बन्द, अन्तर्राष्ट्रिय विमानले पनि रद्द गर्यो उडान

बीबीसी । भारत र पाकिस्तानबीच उत्पन्न युद्धस्थितिलाई ध्यानमा राखी दुबै मुलुकमा विद्यालय र कलेज बन्द गरिएको छ ।
पाकिस्तानको राजधानी इस्लामाबाद र पञ्जाब प्रान्तमा विद्यालय बन्द गरिएको छ । त्यस्तै पाकिस्तान प्रशासित काश्मिरको पनि विभिन्न क्षेत्रमा विद्यालय र कलेज बन्द गरिएको छ ।
यता, भारत प्रशासित काश्मिरको जम्मू, साम्बा, कठुआ, राजौरी र पुछमा विद्यालय, कलेज र अन्य शैक्षिक संस्था पनि आज बन्द रहने बताइएको छ ।
त्यसैगरी, कतार एयरवेजले पाकिस्तानी हवाई क्षेत्र बन्द भएका कारण पाकिस्तानका लागि आफ्नो उडान अस्थायी रुपमा निलम्बन गरेको छ ।
त्यस्तै एयर फ्रान्स एयरलाइन्सले पनि पाकिस्तान हुँदै उडान भर्ने सबै उडानलाई अस्थायी रुपमा निलम्बन गरेको छ भने जर्मन एयरलाइन्स लुफ्थान्साले पनि अर्को सूचना जारी नभएसम्मका लागि उडान रद्द गरेको छ ।
यसैबीच, भारतको ‘अपरेशन सिन्दुर’ सुरु भएसँगै भारतीय एयरलाइन्सले ट्राभल एडभाइजरी जारी गरेको छ ।
एयर इन्डिया, स्पाइसजेट र इन्डिगोले ट्राभल एडभाइजरी जारी गर्दै विभिन्न क्षत्रको उडान प्रभावित हुन सक्ने जारी दिएको छ ।
एयर इन्डियाले एक्समा लेख्दै भनेको छ, ‘वर्तमान स्थितिलाई ध्यानमा राख्दै एयर इन्डियाले ७ मे दिउँसो १२ बजेसम्म जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चन्डीगढ र राजकोटबाट उडान भर्ने सबै उडान रद्द गरिएको छ ।’
त्यस्तै अमृतसर जाने दुईवटा अन्तर्राष्ट्रिय उडानलाई दिल्लीतर्फ मोडिने पनि बताइएको छ ।
स्पाइसजेटका अनुसार धर्मशाला, लेह, जम्मू, श्रीनगर र अमृतसरसहित उत्तर भारतका केही भागमा एयरपोर्टमा सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने छ ।
इन्डिगोले हवाई क्षेत्रको बदलिँदो परिस्थितिलाई ध्यानमा राखी श्रीनगर, जम्मू, अमृतसर, लेह, चन्डीगढ र धर्मशालाबाट उडान भर्ने जहाज प्रभावित हुन सक्ने बताएको छ ।






