भारतले भन्योः बिहीवार पाकिस्तानको तर्फबाट झन्डै ४ सय ड्रोन आक्रमण भयो

काठमाडौँ । भारतले बिहीवार पाकिस्तानको तर्फबाट देशका विभिन्न भागमा झन्डै ४ सय ड्रोन आक्रमण भएको बताएको छ ।
भारतीय विदेश मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै कर्नल कर्नल सोफिया कुरैशीले बिहीवार राति भारतको विभिन्न भागमा पाकिस्तानीले सेनाको केन्द्रलाई लक्षित गर्दै ३ सयदेखि ४ सय ड्रोन आक्रमण गरेको जानकारी दिइन् ।
कर्नल सोफियाका अनुसार लेहदेखि सर क्रीकसम्म कम्तिमा ३६ स्थानमा ३००–४०० ड्रोनले भारतमा घुसपैठको प्रयास गरियो । तर, भारतीय सुरक्षा बलले काइनेटिक र नन काइनेटिक साधनको प्रयोग गर्दै उक्त पैयासलाई असफल बनायो ।
उनले आक्रमणमा प्रयोग भएको ड्रोनको फरेन्सिक जाँच भइरहेको भन्दै प्रारम्भिक जाँचमा आक्रमणमा प्रयोग भएका ड्रोन टर्कीमा बनेको खुल्न आएको पनि पुष्टि गरिन् ।
साथै उनले पाकिस्तानको तर्फबाट सीमा क्षेत्रमा गोलिबारी भइरहेको र उक्त गोलिबारीमा भारतका केही सेना हताहत भएको पनि बताइन् । साथै भारतको जवाफी कारबाहीमा पाकिस्तानलाई ठूलो नोक्सानी भएको पनि उनले बताइन् ।
उनले घटनामा कतिजनाको मृत्यु भएको र घाइते भएका छन् भन्नेबारे कुनै जानकारी दिइनन् ।
यता, पाकिस्तानको रक्षा मन्त्रालयले भने भारतको उक्त दावीलाई अस्विकार गरेको छ । पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले बीबीसीसँग कुराकानी गर्दै भारतमाथि पाकिस्तानले हालसम्म कुनै आक्रमण नगरेको भन्दै पाकिस्तानले आक्रमण गरे सबैलाई थाहा हुने बताए ।






