मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने

धनुषा । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आगामी बजेटमा मधेस प्रदेशमा नयाँ रङ्गशाला निर्माण तथा पुराना संरचना मर्मतका लागि आवश्यक बजेट विनियोजन गर्ने बताएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट सङ्घको समन्वयमा शुक्रवारदेखि जनकपुरधामको रजौलमा रहेको रामजानकी बहुउद्देश्यीय रङ्गशालामा सुरु भएको तेस्रो जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गरेका थिए । मन्त्री चौधरीले मधेस प्रदेशमा आयोजना हुने ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पूर्वाधारका निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर आगामी बजेट विनियोजन गर्ने बताए ।
उनले जनकपुरधामको रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा मन्त्रालयले गुठी संस्थानसँग सम्झौता गराउन पहल गरिरहेको जानकारी गराए । खेलकुदको विकासमा स्थानीय तहको अहम् भूमिका रहने उल्लेख गर्दै जनकपुरधाम उपमहानगरपालिकाले निरन्तर मेयर कपको आयोजना गरेर खेल तथा खेलाडीको मनोबल बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा उनले प्रशंसा गरे ।
मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले जनकपुरधाममा रामजानकी बहुउद्देश्यीय रंगशालाको निर्माणका लागि वैधानिक प्रक्रिया अगाडी बढाइसकेकाले चाँडै रंगशाला निर्माणको बाटो खुला हुने बताए ।
उनले मधेस प्रदेशकै आठ जिल्लामा रङ्गशाला निर्माण गर्ने पक्षमा प्रदेश सरकार रहेको बताए । पुराना अधुरा खेलकुदको आयोजना निर्माण सम्पन्न गर्नुपर्ने दायित्व प्रदेश सरकारकै भएको उनको धारणा छ ।






