पाकिस्तानले युद्धविरामको उल्लङ्घन गरेको भारतको आरोप

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिसरीले पाकिस्तानले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

शनिवार साँझ भारत र पाकिस्तानबीच युद्धविराम घोषणा भएको केही घन्टामै पाकिस्तानले भारतका विभिन्न राज्यमा ड्रोन आक्रमण गरेको उनले दावी गरे ।

शनिवार राति करिब ११ बजे भारतीय विदेश मन्त्रालयको तर्फबाट विशेष प्रेस ब्रिफिङ्गको आयोजना गरिएको थियो । जसमा सचिव मिसरीले पाकिस्तानको तर्फबाट युद्धविराम सम्झौताको उल्लङ्घन गरिएको बताए ।

उनले शनिवार साँझ मात्रै युद्धविराम सम्झौता भएको तर, पाकिस्तानको तर्फबाट भइरहेको ड्रोन आक्रमणको भारतीय सेनाले जवाफी कारबाही गरिरहेको बताएका थिए ।

साथै उनले पाकिस्तानको उक्त कदम निन्दनीय रहेको पनि बताए ।

भारतको जम्मू काश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पनि शनिवार पाकिस्तानी पक्षले ड्रोन आक्रमण गरिरहेको र ब्ल्याक आउट गरिएको जानकारी आफ्नो एक्समा दिएका थिए ।

पाकिस्तानी पक्षले शनिवार भारतको जम्मू काश्मिर, पञ्जाब, राजस्थानमा ड्रोन आक्रमण गरिरहेको र ती क्षेत्रमा ब्ल्याक आउट गरिएको जानकारी समाचार संस्था एएनआईले पनि दिएको थियो ।

प्रतिक्रिया