‘मधेसलाई सूचना प्रविधिको हब बनाउन सकिन्छ’

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस–प्रदेशलाई सूचना प्रविधिको ‘हब’ बनाउन सकिने बताएको छ।
आज महोत्तरीको बर्दिबासमा आयोजित ‘डिजिटल मधेस कन्क्लेभ २०२५’ को पहिलो संस्करणमा उनले चालु आर्थिक वर्षको बजेटमै प्रदेशमा आइटी पार्कको योजना राखिएको र काम सुरु भइसकेको जानकारी दिए। “इनोभेसन सेन्टर, स्पेस सेन्टरको अवधारणा पनि बजेटमा समावेश भएको र विस्तारै काम अघि बढ्दैछ,” उनले भने।
मुख्यमन्त्री सिंहले सरकारी सेवा प्रणालीलाई कागजरहित बनाउने अवधारणा व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। उनले भने, “पेपरलेस सिस्टम ल्याउने कुरा भाषणमा मात्रै सीमित हुनुहुँदैन, कार्यान्वयनमै जानुपर्छ ।”
सूचना प्रविधिको युगमा युद्धसमेत प्रविधिमैत्री भइसकेको उल्लेख गर्दै उनले अब प्रविधिलाई कसरी अङ्गिकार गर्ने भन्ने विषय गम्भीर रुपमा लिनुपर्ने बताए। केही समय अघि प्रदेशको स्वास्थ्य क्षेत्र सुधारका निम्ति अस्पताल अनुगमनमा कडाइ गरेका उनी हाल शिक्षा सुधार अभियानमा लागेको छ। गत सोमबारबाटै उनले सामुदायिक विद्यालय अनुगमन सुरु गरेको छ। उनले ‘इमिस’ प्रणालीमा विद्यार्थी ट्र्याकिङ कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे डेभलपरहरुलाई नयाँ प्रयोग ल्याउन आह्वान गरे।
उनले नेपालका दूरसञ्चार कम्पनीले ग्राहकलाई ठगिरहेको आरोपसमेत लगाए। मधेस प्रदेशका आठ जिल्लामा ती कम्पनीले राम्रो सेवा दिन नसकेको उनको भनाइ छ ।
मुख्यमन्त्री सिंहले नेपाली सूचना प्रविधि कम्पनीलाई विदेशी कम्पनीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले भने, “सूचना प्रविधिको यस्तो सेवा छ, जुन एउटै भवनभित्र विभिन्न सेवा प्रदान गर्न सक्छ ।” उनले सूचना प्रविधिमा काम गर्ने कम्पनीलाई मधेसमा काम गर्ने वातावरण तयार पार्ने प्रयास भइरहेको जनाए।
कार्यक्रममा गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेसमा सूचना प्रविधिको विकासका लागि सूचना प्रविधि प्रतिष्ठान तथा विज्ञान प्रविधि अध्ययन केन्द्र स्थापना गर्न आवश्यक रहेको धारणा राखे।
मधेस प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साहले ‘डिजिटल मधेस’ का लागि पाँच डी (डिजिटल, डायस्पोरा, डेमोग्राफी, डिसेन्ट्रलाइजेसन, डेमोक्रेसी)बीच सन्तुलन आवश्यक रहेको बताए। उनले प्रविधि तथा ज्ञान हस्तान्तरणका लागि विदेशी विश्वविद्यालयसँग सहकार्य, तथ्याङ्क सुरक्षा र नागरिकलाई प्रविधिमैत्री बनाउन डिजिटल साक्षरता बढाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा सूचना प्रविधि विज्ञ विवेक राणाले ‘मधेस कसरी डिजिटल बन्न सक्छ’ भन्ने विषयमा कार्यपत्र प्रस्तुित गरेको थियो । आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले कार्यक्रमले प्रदेश सरकारको आगामी नीति कार्यक्रम र बजेट निर्माण गर्दा प्रविधिमैत्री गरिने विश्वास व्यक्त गरे।
कार्यक्रमको आयोजना मधेस प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयले गरेको हो। मन्त्रालयका सचिव बिलम प्रसाल बरालको अध्यक्षतामा भएको कन्कलेभको सहआयोजन आइसीटी फाउन्डेसन नेपाल र क्यान मधेस प्रदेशले गरेका थिए।
सचिव बरालले स्वागत मन्तव्य राख्दै प्रदेश सरकारले अंगिकार गरेको प्रविधिहरुको विषयमा जानकारी दिएको थियो।
कन्क्लेभमा डिजिटल मधेसको हालको अवस्था, अवसर, सम्भावना र चुनौतीका विषयमा वृहत छलफल गरिएको छ । कार्यक्रममा भएको छलफल र अन्तक्रियाबाट आएको निष्कर्षले मधेस प्रदेशको डिजिटल मार्गचित्र कोर्न सघाउने विश्वास व्यक्त गरिएको छ ।
यस्तै प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत मधेस प्रदेशका स्थानीय तहहरुमा प्रविधिमैत्री स्थानीय तह बनाउन कार्यरत सूचना प्रविधि अधिकृतहरुको पनि सहभागि रहेको थिए।