मधेसको कथामा फिल्म ‘प्रतिवैरम्’ बन्दै

जनकपुरधाम। निर्देशक रोशन दासले मधेसको कथामा आधारित फिल्म प्रतिवैरम् बनाउन लागेका छन्। शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै उनले मधेसको मौलिक संस्कृति र परिवेशमा आधारित फिल्म बनाउन लागेको जानकारी दिएका छन्।

मधेसमा मनाइने भाइबहिनीबीचको प्रेमको प्रतीक सामा–चकेवा पर्वलाई केन्द्रमा राखेर फिल्म निर्माण गर्न लागेको उनले बताएका छन्। पारिवारिक कथामा आधारित यस फिल्मको सार्वजनिक पोस्टरमा रावणको पृष्ठभूमिसहित अगाडि एक व्यक्ति उभिएको दृश्य देखाइएको छ, जसले कथावस्तुबारे संकेत गर्छ, उनले भने। यसअघि निर्देशक दासले सामाजिक तथा पारिवारिक वेब सिरिज आरती र गीतिचलचित्र आफ्नै स्वार्थ, आदत, रंग कडा लगायत निर्माण गरिसकेका छन्।

फिल्ममा मुख्य भूमिकामा अभिनेता सम्राट दास रहेका छन्। निर्देशकका अनुसार यो फिल्मबाट सम्राटले अभिनयमा डेब्यु गर्दै छन्। उनीसँगै फिल्ममा कलाकारहरु रमेश बुढाथोकी, नवीन श्रेष्ठ, अलिशा बास्कोटा, बिरेन्द्र कुशवाहा, सुप्रग्या शर्मा र रोनि यादव लगायत रहनेछ।

“मधेसको कथामा बन्ने धेरै फिल्ममा यहाँको वास्तविक सौन्दर्य र समस्या समेट्ने प्रयास कम देखिन्छ,” निर्देशक दासले भने, “हामीले त्यो कमी नहोस् भनेर सामाजिकसँगै राजनीतिक विषयवस्तुलाई समेत समेटेर फिल्ममा बनाउन लागेका छौं।”

प्रतिवैरम रेज इन्टरटेनमेन्टको ब्यानरमा किङ्स वाईटी स्टुडियो र श्रीयन इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुँदैछ।

फिल्मको कथावस्तु निर्देशक दासले आफैं लेखेका हुन् भने पटकथा लेखनमा युवराज भट्टराईले सहयोग गरेका छन्। फिल्मको छायांकन निरज कँडेलले गर्नेछन्।

निर्देशक दासका अनुसार फिल्ममा थप केही कलाकारहरूको नाम पनि चाँडै सार्वजनिक गरिनेछ। “हामीले नयाँ अनुहारसँगै केही अनुभवी कलाकारलाई पनि यस फिल्ममा समेटेका छौं। ती कलाकारहरूलाई पनि चाँडै सार्वजनिक गर्नेछौं,” उनले जनाए।

फिल्म यसै वर्षको अन्त्यतिर प्रदर्शनमा ल्याउने तयारी गरिएको निर्माताले जनाएका छन्।।

प्रतिक्रिया