कोरोना सङ्क्रमण एशियाली मुलुकमा तीव्र गतिमा फैलिँदै, के यो गम्भीर हो ?

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण एशियाका विभिन्न मुलुकमा फैलिन थालेको छ । छिमेकी मुलुक भारतदेखि सिङ्गापुर, थाइल्यान्ड लगायतका मुलुकमा कोभिड–१९ को नयाँ भेरिएन्ट फैलिन थालेपछि विज्ञहरूले सतर्कता अपनाउन आग्रह गरेको छ ।
सिङ्गापुरमा गत २७ अप्रिलदेखि ३ मेसम्म १४ हजार २ सय नयाँ सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ भने गत साता मात्रै ११ हजार १ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै, थाईल्यान्ड र हङ्ग–कङ्गबाहेक चीनमा पनि कोरोना भाइरसको सङ्क्रमण दरमा तीव्र रुपले वृद्धि भएको छ ।
स्वास्थ्उ जानकारहरूका अनुसार कोरोनाको ओमिक्रोन भेरिएन्टको सवभेरिएन्ट जेएन.१ जिम्मेवार रहेको छ । त्यसैगरी भारतमा पनि पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणदर बढ्न थालेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार सिङ्गापुरमा जेएन.१ भेरिएन्ट ओमिक्रोन भाइरस एउटै प्रजाति हो । यसको पहिचान एक वर्ष अघि भएको थियो । तर, यो भाइरस खासै गम्भीर प्रकृतिको भने छैन ।
जेएन.१ का लक्षण
कोरोना भाइरसको यस भेरिएन्टको लक्षण ओमिक्रोनसँग मिल्दोजुल्दो छ । यसबाट सङ्क्रमित व्यक्तिमा घाँटी खसखस हुने, थकान, टाउको दुख्ने र कफ हुने जस्ता लक्षणहरू देखिन्छन् । तर, कतिपय व्यक्तिको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमतामा पनि निर्भर गर्ने गरेको विज्ञहरू बताउँछन् । त्यस्तै जेएन.१ का अन्य लक्षणमा भने गम्भीर टाउको दुख्ने र झाडापखाला पनि रहेको छ ।
जानकारहरूका अनुसार यस भेरिएन्टको तीव्र गतिमा फैलिनु भने चिन्ताजनक विषय हो ।