भाई बहिनीको प्रेमको प्रतिक सामाचकेवा पर्व सुरु
“बिहुली आगे बिहुली………….सामा जाईछै ससुरा किछ गहनो चाही गे डिहुली”
अबेर रातिसम्म यस्ता गितले गुञ्जायमान हुने मैथिल समुदायमा दाजुभाइ तथा दिदीबहिनीबीचको पवित्र प्रेमको प्रतीकका रुपमा मनाइने सामाचकेवा पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ ।
कात्र्तिक शुक्ल पञ्चमीदेखि सुरु हुने यो पर्वमा दिदीबहिनीले दाजुभाइको दीर्घायु एवम मङ्गल कामना गर्ने गर्छन् । यो पर्वले एकापसमा सम्बन्ध प्रगाढ हुने धार्मिक एवम् सांस्कृतिक मान्यता रहिआएको छ । खासगरी दाजुभाइसित सम्बन्धित यो पर्वमा माटाका कलात्मक मूर्तिहरु बनाइने गरिन्छ । मूर्ति बनाउन भाइटीकाकै दिन माटो ल्याएर यो पर्वको शुभारम्भ गरिन्छ । छठ पर्वको खरनादेखि मूर्ति बनाउने कार्य सुरु गरी कात्तिक पूणिर्माको मध्यरात यो पर्व समापन गरिन्छ ।
माटोबाट निर्माण गरिएका मानव, पशु र चराका मूर्तिहरु काँचो अवस्थामा रहन्छ भने त्यसलाई ‘सामा’ भन्ने गरिन्छ र आगोमा पकाउने मूर्तिलाई ‘चकेवा’ भनिन्छ ।यो पर्व मनाउने सिलसिलामा पहिलो दिन माटोको सिरी सामा बनाइन्छ । दोस्रो दिन, चकेवा र त्यसपछि एकैपङ्िक्तमा बसेका सातवटा चराको मूर्ति बनाइन्छ ।
त्यसपछि क्रमिकरुपमा खररुचि भैया, बाटो बहिनो, दुईमुखे चरा, भाइबहिनी विमुख मूर्ति, परालको वृन्दावन जङ्गल र सनपाटको चुगिला अनिवार्यरुपमा बनाउने गरिन्छ । यसका साथै विभिन्न प्रकारका अन्य मूर्ति कलात्मक ढङ्गले बनाउने गरिन्छ । ती मूर्तिलाई विभिन्न आकर्षक रङले रङ्गाइन्छ ।यो पर्वका बेला माटाका कलात्मक मूर्ति बनाउन जान्नेले अरूलाई यो सीप सिकाउने गर्दछन् ।
भगवान कृष्ण र जाम्बवतीकी छोरीको नाम सामा थियो । भगवान कृष्णको श्रापका कारण शकुन्त चरा भएपछि साम्बलाई पुनः मानव योनीमा फर्काउन सामाका भाइ साम्ब सफल भएको सम्झनास्वरुप यो पर्व मनाउने गरिएको हो ।
यो पर्वको सबभन्दा रमाइलो पक्ष दिदीबहिनीले आफ्ना मनका कुरा निर्धक्क भएर गीतको माध्यमबाट प्रकट गर्छन् । आ–आफ्ना दाजुभाइको प्रशंसा गर्दै कुनै वस्तु माग गर्नु पर्यो भने गीतको माध्यमले गर्छन् । नातागोतामा पर्ने सम्पूर्ण दाजुभाइको गीतमा नाम उल्लेख गरी मध्यरातसम्म गीत गाउने गरिन्छ ।
सो अवसरमा दिदिबहीनीहरुले गाइने गीतको यस्तो छ–
‘गामके अधिकारी मोहे भइया हो ।
भैयाके हाथ दस पोखरी बना दैह हो’ ।। ।।
अर्थात गाउँको प्रमुख व्यक्ति मेरो दाजुभाइ होस् र उसले गाउँमा दसवटा पोखरी बनाई देओस । यो गीतमा विकास निर्माणको काम गरोस् भन्ने कामना गरिएको छ ।
त्यसैगरी,
‘गे माइ कौने भइया जेता अटना पटना ।
कौने भइया जयता मुङ्गेर।। ।।’
अर्थात, कुन कुन दाजुहरु सहर जानुहुन्छ । त्यहाँबाट मैले माग गरेका सामानहरु ल्याइदिन आमासँग भन्छु भन्ने यो गीतको अर्थ हो ।
यसपछि आँगनमा चामलको पीठोबाट बनाइएका कलात्मक अरिपनमा उनीहरुले निर्माण गरेका माटोका मूर्तिहरु र सामाचकेवालाई चढाउनका लागि प्रसादका रुपमा नयाँ धानको च्यूरा, धानको बाला, केरा, दही, चिनी र मिठाई पान, सुपाडी, अरुवा चामलसमेत बाँसको टोकरीमा राखेर पूजा गरिन्छ । त्यसपछि दिदीबहिनीहरु गीत गाउँदै उक्त टोकरी बाकेर चौराहामा पुग्दछन् ।
यसरी चौराहामा दाजुभाइ र दिदीबहिनी जुटेपछि सामा नाम गरेको मूर्तिलाई फोड्ने कार्य सबभन्दा पहिले भाइबाट गराइन्छ ।
त्यस अवसरमा दिदीबहिनीले दाजुभाइलाई आशीष दिँदै यस्तो गीत गाउँछन्–
‘जीवऽ जीव’ जीवऽकी मोर भैया जीव’
कि तोर भैया जीव
जैसन धोवियाके पाठ तैसन भैयाक पीठ
जैसन करडिक थम्ह तैसन भैयाक जाँघ‘।।
अर्थात, मेरो दाजुभाइ वर्षौंवर्षसम्म बाँचून, धोबीले लुगा धुने धाटजस्तै पिठयूँ र करडिकको बोटजस्तै तिर्घा बलियो रहोस् ।
त्यसपछि, सामाचकेवाको पुनः पूजा गरी केही मूर्ति उनीहरु एकापसमा साटासाटसमेत गर्छन् । केही मूर्ति फोड्छन् । लट्ठीमा बनाइएको चुगिलामा आगो लगाएर यो पर्व सम्पन्न गरिन्छ ।
पुराणमा उल्लेख गरिएअनुसार कृष्णकी छोरी सामा वृन्दावनको जङ्गलमा घुमफिर गर्न गएको बेलामा ‘डिहुली’ नामक नोकरानीले कृष्णसमक्ष सामा वनका तपस्वी ऋषिहरुसित रमण गरिरहेको झुटो कुरा लगाइन् । कृष्ण आवेशमा आएर वास्तविक कुरा नबुझी छोरी सामालाई चरा हुने श्राप दिए । श्रापका कारण चरा बनेकी बहिनीलाई मुक्त गराउन दाइ साम्बले घोर तपस्या गरी पुनः मानव चोलामा फर्काएको विश्वासमा यो पर्व मनाइने गरिन्छ ।