श्रीमतीको हत्या गरी फरार रहेका धनुषाका हरिराम दुई महिनापछि पक्राउ

जनकपुरधाम। धनुषामा श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्ति करिब दुई महिनापछि पक्राउ परेका छन्। प्रहरीले लक्ष्मिनीयाँ गाउँपालिका–५ बनिनियाँका ४० वर्षीय हरिराम यादवलाई बिहीबार बिहान जनकनन्दिनी गाउँपालिका–४ स्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार हरिरामले गत चैत १७ गते दिउँसो करिब १ बजे २५ वर्षीया श्रीमती अञ्जली यादवको हत्या गरी शवलाई घरमै कुल देवताको पूजा गर्ने स्थानमा खाल्डो खनेर गाडेका थिए। त्यसपछि उनले शवमाथि ढलान गरेर घटना लुकाउने प्रयास गरेका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको अनुसन्धान टोलीले हरिरामको घरमा ताल्चा फोडेर खोजतलास गर्दा नयाँ ढलान भएको स्थानमा खन्दा करिब दुई फिटमुनि अञ्जलीको शव फेला परेको थियो।

प्रहरी उपरीक्षक नरहरी रेग्मीका अनुसार भारतमा मजदुरी गर्दै आएका हरिराम र उनकी श्रीमतीबीच लामो समयदेखि झगडा हुँदै आएको थियो। घटनाको दिन उनले कुटपिट गरी हत्या गरेपछि १० महिने छोरीलाई साथमा लिएर फरार भएका थिए।

हरिराम पक्राउ परे पनि उनकी छोरीको अवस्था भने अहिलेसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया