पत्रकारिता क्षेत्रको विकास गर्न आवश्यक सहयोग गर्नेः मुख्यमन्त्री सिंह

जनकपुर । मधेस–प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पत्रकारिता क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने बताएका छन् । विगतमा विभिन्न कारणले पत्रकारिता क्षेत्रलाई चाहिनेजति सहयोग गर्न नसकेको भन्दै उनले आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन गरेर सहयोग गर्ने बताए ।

बिहीवार मधेस–प्रदेश सरकार र सार्वजनिक सेवा प्रसारण नेपालबीच मधेस प्रदेशको राजधानी जनकपुरधामको मधेस भवनमा मधेस ब्युरो कार्यालय सञ्चालन गर्नेसम्बन्धी सम्झौतापत्र आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री सिंहले आउँदो बजेटमा पत्रकारिता क्षेत्रको विकासका लागि थप बजेट विनियोजन गरिने बताए । सो बजेट मधेस प्रदेशको गृहसञ्चार तथा कानुन मन्त्रालयमार्फत पत्रकारिता क्षेत्रको विकासका लागि खर्च गरिने उनले जानकारी दिए ।

सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गतको रेडियो नेपाल तथा नेपाल टेलिभिजनको स्टुडियोसहितको मधेस ब्युरो कार्यालय मधेस भवनबाट सञ्चालन हुनु गर्वको विषय भएको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले यस संस्थाले सरकार र जनताबीचको पुलको काम गर्ने आशा व्यक्त गरे । उनले मधेस प्रदेश सरकारको सानो सहयोगमा प्रदेशको गतिविधि, केन्द्र, देश तथा विश्वभरिका आमजनतामा पु¥याउन रेडियो नेपाल तथा नेपाल टेलिभिजनको भूमिका महत्वपूर्ण भएको र अगामी दिनमा थप प्रभावकारी बन्ने आशा व्यक्त गरे ।

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सानो सहयोगले नेपालमा इतिहास बोकेको रेडियो नेपाल तथा नेपाल टेलिभिजनको ब्युरो कार्यालय स्थापना हुनु गर्वको विषय भएको बताउँदै यसबाट मधेसका जनताको चाहना र इच्छा सार्वजनिक सेवाबाट मुखरित हुने आशा व्यक्त गरे ।

सरकारले प्रयोग गर्दै आएको कभर्डहलसँगैको चार कोठामा सार्वजनिक सेवा प्रसारण नेपालको रेडियो नेपाल तथा नेपाल टेलिभिजनको स्टुडियोसहितको संरचना निर्माण गरेर यसै ठाउँबाट विभिन्न प्रकारको प्रसारण सामग्रीको उत्पादन गरेर रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालय बर्दिवास तथा नेपाल टेलिभिजनको इटहरीबाट प्रसारण केन्द्रबाट प्रसारण गर्न सम्झौता भएको हो ।

मधेस प्रदेश सरकारको सम्पूर्ण गतिविधिकाबारेमा समाचार, कार्यक्रमसहितका अन्य सामग्रीको उत्पादन यसै ठाउँबाट हुनुका साथै रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारणका अतिरिक्त केन्द्रीय प्रसारणमा प्रभावकारी सम्प्रेषण मधेस भवनबाटै हुने बताइएको छ ।

प्रतिक्रिया